डा. हरि उप्रेतीको शब्द तृप्ति खड्का र गणेश प्रधानको स्वरमा गीत ‘बनको काफल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौः काफल पाक्ने बेलामा डा. हरि उप्रेती द्वारा लेखिएकोे प्रेमिल लोकगीत ‘बनको काफल’ सार्वजनिक भएको छ । सरल शब्दमा व्यक्त भएको गीत ‘बनको काफल’ भावनात्मक गहिराइ, ग्रामीण परिवेशको सुगन्ध र प्रेमको आत्मीय अनुभूति बोकेको अत्यन्त समृद्ध गीत बनेको छ जुन गीत गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ्ग र गणेश प्रधानको स्वर, तृप्ति खड्का गुरुङ्ग को संगीतमा गायक गणेश प्रधानको अफिशियल युट्व च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको स्थायीमा नै ‘आज मलाई के भा छ…’ भन्ने पंक्तिले प्रेममा हुने बेचैनी र आकुल, ब्याकुलता प्रकट गरेको छ । गीत ‘बनको काफल’ मा प्रेम केवल आकर्षण होइन गहिरो अनुभूति हो जसले हृदयलाई पूर्ण रूपमा कब्जा गरिरहेको हुन्छ, प्रेमको यो मनोवैज्ञानिक अवस्था एकप्रकारको प्रेमजन्य व्याकुलता हो जहाँ प्रिय व्यक्तिको अनुपस्थिति असह्य हुन्छ, उनको यादले विपनीमा मात्र होइन सपनीमा पनि सताउँछ, प्रेम चेतन र अवचेतन दुवै तहमा गहिरो रूपमा बसिसकेको छ । प्रेमीको सम्झना निद्रामा समेत छुट्दैन भन्ने भाव व्यक्त गरेको छ जुन भाव नै प्रेमको सर्वव्यापकता हो ।


गीतको सबैभन्दा शक्तिशाली प्रतीक ‘बनको काफल’ हो । काफल नेपाली ग्रामीण परिवेशमा पाइने एक मिठो एवं मौसमी फल हो जसले ताजगी, मिठास, र प्राकृतिक आनन्दको संकेत गर्छ र जुन यहि मौसममा पाक्ने गर्दछ, काफल पाकेको सन्देश ‘काफल पाक्यो काफल पाक्यो…’ भन्दै बन चरीले दिने गर्दछ । काफल मीठो फल हो तर काफल जस्तो प्राकृतिक मिठास पनि प्रियसी बिना निरर्थक हुन्छ, प्रेमले नै जीवनलाई “शीतलता” अर्थात शान्ति र आनन्द दिन्छ, बाह्य संसारका सबै सुखहरू प्रेमबिना अधुरा हुन्छन् भन्ने भाव गीतमा रहेको छ । यसरी “काफल” जीवनका सामान्य खुसीहरूको प्रतीक हो, जुन प्रेमबिना अर्थहीन बन्न जान्छ।

mostbet


“तिम्रै भरमा यो ज्यान छ बाँचेको …दुःख सुख संगसंगै कटौला…” गीतका यी पंक्तिहरूले देखाउँछन् कि प्रेम दुई व्यक्तिबीचको भावनात्मक सम्बन्ध मात्र होइन जीवनको सहयात्रा पनि हो । यहाँ प्रेममा त्याग, विश्वास, र दीर्घकालीन प्रतिबद्धताको स्पष्ट अभिव्यक्ति झल्केको छ । “पिरतीमा दुई मुटु गासौला एउटै धड्कन संगसैगै बाचौला” दुई व्यक्तिको अस्तित्व एकै भावनामा विलीन हुनु प्रेममा सिमाना नहुनु वा सिमाना हराउनु हो जहाँ प्रेम दुई आत्माको मिलनका रूपमा बुझ्‌न सकिन्छ ।
गीतमा प्रयोग भएको “घरबार जोडेर”, “दुःख बन्धनलाई तोडेर” जस्ता अभिव्यक्तिहरूले नेपाली ग्रामीण समाज र परिवेशको यथार्थ झल्काउँछ । प्रेम यहाँ केवल व्यक्तिगत भावना नभई सामाजिक संरचनासँग पनि जोडिएको छ भन्ने सन्देश पनि गीत ‘बनको काफल’ ले दिएको छ । विवाह र घर बसाउने सपना संलाग्नु प्रेमको उत्सर्ग हो, सफलता हो । प्रेममा आइपर्ने जुनसुकै संघर्षसँग जुध्ने तयारी र सामाजिक बन्धनहरू तोड्ने चाहनाले प्रेम व्यक्तिगत र सामाजिक दुवै तहमा क्रान्तिकारी शक्ति हुन सक्ने सन्देश दिएको छ ।


प्रेम यति गहिरो छ कि मर्नै परे संगसंगै मर्न पनि प्रेमी प्रेमिका तयार छन् । प्रेममा सवभन्दा ठुलो कुरा त्याग नै हो, प्रेममा प्राप्ति अनिवार्य छ, बरु मरिन्छ छुट्टिएर एक्लै बाचिन्न भन्ने प्रेमको चरम समर्पणको अभिव्यक्ति गीतमा रहेको छ । यो अतिशयोक्ति भए पनि लोकगीतमा यस्तो अभिव्यक्ति प्रेमको गहिराइ देखाउन प्रयोग गरिन्छ, यसले प्रेमलाई जीवनको अन्तिम सत्य अस्तित्वको आधार, मृत्यु पछि पनि कायम रहने सम्बन्धका रूपमा चित्रण गर्छ, भावनालाई बलियो बनाउँछ अनि गीतलाई स्मरणीय र संगीतात्मक बनाउँछ ।


गीत ‘बनको काफल’ प्रेमको एक समग्र चित्र हो जहाँ व्याकुलता, मिठास, समर्पण, संघर्ष, र भविष्यको सपना सबै समेटिएका छन्। ‘बनको काफल’ जस्तो सरल प्रतीक मार्फत गीतकार हरि उप्रेतीले देखाएका छन् कि जीवनका सबै प्राकृतिक र भौतिक सुखहरू प्रेमबिना अपूर्ण छन् । यस गीतले अन्ततः एउटा गहिरो सन्देश दिन्छ साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार, सहयात्रा, र आत्मिक एकताको रूप हो ।
काठमाडौको सामाखुसीमा रहेको सारेगम स्टुडियो र अमेरिकाको आर एण्ड बि स्टुडियोमा रेकर्ड भएको गीत ‘बनको काफल’ को मिक्सिङ, मास्टरिङ नरेश पाण्डेले गरेका छन् भने गीतको भिडियोमा विजय गुरुङ र निरुता विष्टको अभिनय रहेको छ । खगेन्द्र गिरीको कोरियोग्राफीमा बनेको ‘बनको काफल’ को भिडियोमा श्रृङ्गार कविन खड्काको रहेको छ भने प्रकाश खड्का र समुहको छायाकंन एवं मिलन विश्वकर्माले कलर र सम्पादन गरेका छन् । भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् ।

गीत ‘बनको काफल’
आज मलाई के भा छ के भा छ तिम्रै यादले यो मुटु खाइ रा छ
बनको काफल तिमी विना यो मनमा छैन शितल

मलाई पनि कहाँ भेटु भै रा छ सपनीमा तिम्रै याद आइरा छ
बनको काफल तिमी विना यो मनमा छैन शितल

तिम्रै माया मनमा छ साँचेको तिम्रै भरमा यो ज्यान छ बाँचेको
बनको काफल तिमी विना यो मनमा छैन शितल

पिरतीमा दुई मुटु गासौला एउटै धड्कन संगसैगै बाचौला
बनको काफल तिमी विना यो मनमा छैन शितल

तिम्लाइ पनि यो दिलमा सजाउला हाँस्दै खेल्दै यो जुनी कटाउला
बनको काफल तिमी विना यो मनमा छैन शितल

लेखेकी छु यो दिलमा तिम्रै नाम तिम्रै काखमा जिउन मर्न पाउ
बनको काफल तिमी विना यो मनमा छैन शितल

दुःख सुख संगसंगै कटौला मर्नै परे संगसंगै मरौला
बनको काफल तिमी विना यो मनमा छैन शितल

बसौ अव घरबार जोडेर सारा दुःख बन्धनलाई तोडेर
बनको काफल तिमी विना यो मनमा छैन शितल

गीत ‘बनको काफल’ को भिडियो हेर्नुहोस् !