
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग व्यापक छलफल गरी चाँडै नै एमालेमा औपचारिक रूपमा फर्किने घोषणा गरेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफूहरू केही दिन देशभर अभियान चलाएर, सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रममार्फत् एमाले प्रवेश गर्ने बताएका हुन्।
“एक सय २२ जना साथीहरू त ६–८ महिनाअघि नै एमाले फर्किने तयारीमा थियौं। अब देशभरका साथीहरूसँग छलफल गरेर एउटा ठूलो शक्ति बनेर घर फर्कनेछौं,” श्रेष्ठले भने।
उनले एमालेमा फर्कनका लागि कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे। “महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन। हामीले कुनै बार्गेनिङ गरेका छैनौं, पदको भोको पनि छैनौं। काम गर्दै जाँदा नेतृत्वले जे जिम्मेवारी दिनुहुन्छ, त्यो स्वीकार गर्नेछौं,” विघटित प्रतिनिधिसभाका सांसद समेत रहेका श्रेष्ठले बताए।
श्रेष्ठले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको करिब दुई लाख ९४ हजार मतमध्ये अधिकांश मत आफूहरूजस्ता भूईं नेताको मेहनतको परिणाम भएको दाबी गर्दै भने, “एमाले फर्किएपछि तीमध्ये दुई लाखजति मत एमालेकै पक्षमा आउनेछ।”