
काठमाडौं : सामाजिक सञ्जालमा हिंसा भड्काउने अभिव्यक्ति सार्वजनिक गरेपछि प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ।
भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त अभिव्यक्तिलाई प्रहरी र राजनीतिक वृत्तले ‘भड्काउपूर्ण’ मानेका छन्।
भुसालको अभिव्यक्तिपछि प्रहरी प्रशासन सतर्क बनेको छ। भक्तपुरको गुण्डुस्थित ओली निवास वरिपरि विशेष सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
यसैबीच, भुसालको पोस्टपछि तरुण दलका एक कार्यकर्ताले उनको समूहलाई ‘प्रतिकार गर्ने’ चेतावनी दिएका छन्।
यता, नेकपा एमाले निकट युवा स्वयंसेवक बलले आइतबार गुण्डुमा भेला आयोजना गरेको छ। सो बलले मोटरसाइकल र्याली समेत निकालेपछि भुसालमाथि खतरा बढेको प्रहरीको प्रारम्भिक मूल्याङ्कन छ।
काठमाडौँ प्रहरीले अहिले भुसालको खोजी तीव्र पारेको छ। जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार, “संभावित मुठभेट र झडप रोक्न उनको नियन्त्रण जरुरी देखिएको” बताइएको छ। प्रहरी स्रोतका अनुसार भुसाल हाल सञ्चार सम्पर्कविहीन अवस्थामा छन्।
यसअघि असोज २३ गते माइतीघरमा प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनले गाँजा सेवन गरेको रिपोर्ट आएपछि परिवारको जिम्मामा सुधार केन्द्रमा पठाइएको थियो।