
ललितपुर : नेपाली कांग्रेस सुधार अभियान (अन्डर–४०) का कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोड्दै प्रदर्शन गरेका छन् । उनीहरूले पार्टी मुख्यालयको मुख्य गेटमै पुगेर ताला लगाउँदै नाराबाजी गरेका हुन् ।
अभियानमा संलग्न समूहले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रहरीले बाक्लो सुरक्षा घेरा दिएको भए पनि प्रदर्शनकारीहरू पार्टी कार्यालयको गेटसम्म पुग्न सफल भएका थिए ।
गेट बन्द गरिएपछि उनीहरू बाहिरै बसेर ‘नियमित महाधिवेशन गर, वर्तमान केन्द्रीय समिति विघटन गर’ र ‘युवाको अधिकार सुनिश्चित गर’जस्ता नारा लगाएका थिए ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले पनि पार्टी कार्यालयमा प्रवेश गर्न कडाइका साथ जाँच गरिएको छ ।