
काभ्रेपलाञ्चोक : अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको बीपी राजमार्ग डाइभर्सन निर्माणसँगै पुनः सञ्चालनमा आएको छ । रोशी–८ चारसयबेशी र रोशी–११ पिप्लेमा डाइभर्सन बनाएपछि शुक्रबार बिहान ११:४५ बजेबाट सवारीसाधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
चारसयबेशीस्थित नाङ्साल क्रसरनजिक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गमा आवागमन रोकिएको थियो । अहिले रोशी खोलाको किनार हुँदै अस्थायी डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको हो ।
लगातारको वर्षाका कारण चौकीडाँडा, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी लगायतका स्थानमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएको थियो ।
प्रशासनले डाइभर्सन क्षेत्र र रोशी खोलाको किनारमा अझै पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।