१५ दिनभित्र माग पुरा गर्ने सहमतिसँगै बञ्चरेडाँडा फोहोर फाल्न खुल्यो

काठमाडौं : चार दिनदेखि रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोलीले स्थानीय बासिन्दाका माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न दिने निर्णय भएको हो ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार मन्त्री घिसिङले माग पूरा हुने आश्वासन दिएपछि रोकिएका फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडातर्फ जान थालेका छन् ।

मन्त्री घिसिङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वातावरण विभाग प्रमुख सरिता राई पनि स्थल निरीक्षणका लागि बञ्चरेडाँडा पुगेका थिए ।

स्थानीयहरूले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौतामा सरकारले लापरवाही गरेको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । शुक्रबार मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि आइतबार मात्रै सहमति जुटेको हो ।

काठमाडौं उपत्यकाबाट दैनिक १५० भन्दा बढी फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ जाने गर्छन् । उक्त साइटले नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका तथा धादिङको धुनवेशी नगरपालिकाका स्थानीयलाई पनि प्रभावित पारेको छ ।