दुर्गा प्रसाईं र कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्यको ६ बुँदे सहमति

काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बीपी) बीच आगामी आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

आइतबार मध्यपुरथिमिस्थित प्रसाईं निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको हो ।

नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेका आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवादका लागि मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन् ।

सहमति अनुसार आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।

दुवै पक्षले आन्दोलनलाई अहिंसात्मक, संवैधानिक र अनुशासित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, संयुक्त समन्वय समिति गठन गरी आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउने सहमति गरिएको छ ।