सामाजिक सञ्जाल बन्द होइन, जिम्मेवार र व्यवस्थित हुनुपर्छ’ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा बुधबार आयोजित लोक सञ्चारकर्मी नेपाल र अनलाइन टिभी पत्रकार संघसँगको संयुक्त छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाललाई कहिल्यै बन्द नगर्ने स्पष्ट सन्देश दिए।

‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु,’ मन्त्री खरेलले भने, ‘नयाँ मुलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु बन्द गरिने छैनन्। कुनै पनि सञ्चार माध्यममाथि रोक लगाइँदैन।’

उनका अनुसार सञ्चारमन्त्रीको प्राथमिकता सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउनमा केन्द्रित हुनेछ। उनले थपे, ‘बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन। सरकार जनतासँग जोडिनुपर्छ, सुन्नुपर्छ र महसुस हुनुपर्छ।’

मन्त्री खरेलले सञ्चार मन्त्रालय जनताको आवाज सुन्ने, देखिने र महसुस हुने निकायका रूपमा काम गरिरहेको उल्लेख गर्दै सरकारलाई नागरिकसँग नजिक ल्याउने दिशामा मन्त्रालय सक्रिय रहेको बताए।

छलफलका क्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन मिडिया दर्ता प्रक्रिया तथा नियमनसम्बन्धी झन्झटका विषयमा मन्त्रीको ध्यानाकर्षण गराए।

मन्त्री खरेलले पत्रकारहरूले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै, सञ्चार क्षेत्रको हितका लागि व्यावहारिक सुधार ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। उनले अनलाइन मिडियासम्बन्धी प्रशासनिक झन्झट हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी पनि दिए।पनि दिए।