‘मोन्था’ चक्रवातको आंशिक प्रभाव:देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडौं:देशमा हाल पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्यतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

mostbet

दिउँसोसम्म देशका अधिकांश भूभागमा बदली रहने सम्भावना छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ।

त्यस्तै आज राति पनि देशका अधिकांश भूभागमा बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र बाँकी प्रदेशका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात तथा कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।