‘सामाजिक सञ्जाल बन्द हुँदैन’ – सञ्चार मन्त्री जगदीश खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न संघ–संस्थासँग भएको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले त्यसलाई बन्द गर्ने सरकारको कुनै योजना नरहेको बताए।

उनका अनुसार सरकार सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नेछ। “सामाजिक सञ्जाल अहिलेको नयाँ मुख्य सञ्चारमाध्यम हो, यसलाई व्यवस्थित बनाउने काममा सबैको साथ आवश्यक छ,” मन्त्री खरेलले भने।

उनले अनलाइन सञ्चारमाध्यमलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्दै अनलाइन मिडियाको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न नियमावली मन्त्रिपरिषद्मा पेश भइसकेको जानकारी दिए।

छलफलका क्रममा अनलाइन टिभी सञ्चालक र डिजिटल सञ्चार माध्यमका प्रतिनिधिहरूले राज्यले आफूहरूलाई पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका थिए।