
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन्।
बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्ने नेताहरूलाई लक्षित गर्दै ती नेता केपी ओलीका सामु लम्पसार पर्न तयार भएको टिप्पणी गरेका हुन्।
पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाललगायतका केही नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाउँदै आएका थिए।
तर अध्यक्ष नेपालले भने, “एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।”
उनले एकीकृत समाजवादी पार्टी खोलेर आफूहरूले कुनै गल्ती नगरेको जिकिर गर्दै भने, “चुनौतीहरू आइरहन्छन्, ती चुनौतीको सामना गर्नुपर्छ। हामीले हरेक चुनौतीको सामना गरेका छौं।”