
काठमाडौं : मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ गइरहेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको हो।
दुर्घटनामा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय स्कुटर चालक केदार श्रेष्ठको मृत्यु भएको छ। उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन्।
गम्भीर घाइते केदारलाई हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सरस्वतीको अवस्था गम्भीर र प्रवीनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ।