
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन देशको मौसम प्रभावित हुने विभागले जनाएको छ।
विभागले जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका धेरैजसो भागमा बदली भई वर्षा र हिमपात हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने, एक–दुई स्थानमा भने भारी हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सुझाव दिएको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा वा बसोबास गर्नेहरूलाई अतिरिक्त सतर्क रहन आग्रह गरिएको छ।
