शहीदको बलिदान खेर जान दिनुहुन्न : मन्त्री गौतम

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान नदिन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केएमसीले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र हाल दुई जना मात्र उपचाररत रहेको जानकारी दिइन्।

उनका अनुसार, एक जना महिलामाथि पेट्रोल बम प्रहार भएको र अर्को घाइते गोली लागेर उपचाररत रहेको छ। दुबैको अवस्था सुधारोन्मुख रहेको मन्त्री गौतमले बताइन्।

उनले शहीदको बलिदानको अवमूल्यन हुन नदिने, जेनजी आन्दोलनका माग–भ्रष्टाचार अन्त्य र सुशासन स्थापनालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्।