
काठमाडौं : मंसिर अन्तिम साता महाधिवेशन गर्न तयारीरत नेकपा (एमाले) मा पार्टी सदस्य संख्या ६ लाख ६३ हजार पुगेको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही सदस्य सूचीकै आधारमा महाधिवेशन प्रतिनिधिहरू चयन गरिनेछ। उनले भने, “महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ, अब बाँकी निर्णय सचिवालय बैठकले गर्नेछ।”
गौतमका अनुसार आगामी हप्ता बस्ने सचिवालय बैठकले प्रतिनिधि छनोटसहितका महाधिवेशन तयारीबारे निर्णय गर्नेछ। उनका अनुसार यसअघि ५ लाख ४० हजार सदस्य रहेको पार्टीमा यो पटक सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको हो।