
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा चार नयाँ मन्त्री थपेकी छन्। नयाँ मन्त्रीहरूका रूपमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम टुंगो लागेको छ। उनीहरू आजै शपथ ग्रहण गर्न लागेका छन्।
प्रधानमन्त्री कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। राष्ट्रपति कार्यालयले केहीबेरमै शपथ ग्रहणको समय सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
डा. सुधा शर्मा गौतम — स्वास्थ्य तथा जनसंख्या मन्त्री
पूर्व स्वास्थ्य सचिवसमेत रहेकी डा. शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक लेखेर प्रशासन र समाजमा आफ्नो दृष्टिकोण प्रस्तुत गरिसकेकी छन्।
यसअघि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा रहेको थियो, तर उनीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रधानमन्त्री कार्कीले डा. शर्मालाई जिम्मेवारी दिन निर्णय गरेकी हुन्।
गणपतिलाल श्रेष्ठ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
श्रेष्ठ सम्पदा संरक्षण अभियन्ताका रूपमा चिनिन्छन्। रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रजस्ता ऐतिहासिक सम्पदाको पुनर्निर्माण र संरक्षणमा उनले सक्रिय भूमिका खेलेका छन्। उनले सम्पदा संरक्षणबारे विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयमा समेत प्रस्तुति दिएका थिए।
खगेन्द्र सुनार — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
दलित अधिकारका पक्षमा लामो समयदेखि सक्रिय सुनार सामाजिक न्यायका लागि सशक्त आवाज हुन्। उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलितको समान प्रतिनिधित्व सुनिश्चित गर्न प्रदर्शन, धर्ना र आन्दोलनमा निरन्तर भूमिका निभाएका छन्। रुकुम पश्चिम घटनापछि उनले १० दिनसम्म जिल्ला अदालत गेटमा धर्ना बसेर न्यायको माग गरेका थिए।
बब्लु गुप्ता — युवा तथा खेलकुद मन्त्री
सामाजिक अभियन्ता गुप्ता कोभिड महामारीका बेला ‘नि:शुल्क खाना अभियान’ सञ्चालन गरेर चर्चामा आएका थिए। उनले आर्थिक रूपमा कमजोर वर्गका लागि ‘कपडा बैंक’ सञ्चालन गरेका थिए भने ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाउँदै आएका छन्। रगत दान अभियान र सामाजिक सेवामा उनी निरन्तर सक्रिय छन्।
सरकारमा नयाँ अनुहारहरू थपिएसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार अब पूर्णता पाउने देखिएको छ।