दसैं–तिहारपछि मुस्ताङमा आन्तरिक पर्यटकको भीड, होटल र आवास अभावले पर्यटक हैरान

काठमाडौं: दसैं–तिहारको बिदा सकिएलगत्तै मुस्ताङसहित हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य भीड लागेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट शुक्रबार मात्र बेनी–जोमसोम सडकखण्ड हुँदै ६ हजार ८५९ जना पर्यटक मुस्ताङ प्रवेश गरेका थिए।
त्यसमध्ये ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक रहेको कार्यालयका प्रमुख डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए।
उनीहरू मध्ये २ हजार १६८ यात्रुवाहक सवारीसाधनमार्फत मुस्ताङ पुगेका थिए।

अग्रिम बुकिङ नगर्दा आवास र खानाको समस्या

mostbet

पर्यटन सिजनको चापसँगै अग्रिम बुकिङ नगरी यात्रा गर्ने पर्यटकहरू अहिले ठूलो असुविधामा परेका छन्।
होटल, लज र रेस्टुरेन्टहरूमा अव्यवस्था र अभाव देखिँदा धेरैजसो यात्रुहरूले बास र खानाको अभावमा कठिनाइ भोगिरहेका छन्।

बाराको निजगढबाट मुस्ताङ पुगेका राहुल तिमल्सिनाले भने,“दसैं–तिहारको बिदामा घुम्न गइयो, तर बस्ने ठाउँ र खानेकुरा नपाउँदा निकै तनाव भयो। अबदेखि सिजनमा होइन, अफसिजनमै घुम्ने निर्णय गरेको छु।”

त्यस्तै, काठमाडौंका सुवास अधिकारीले साथीहरूसहित जोमसोम पुग्दा होटल पाउन धौधौ भएको, अन्ततः एउटै कोठामा कोचिएर महँगो शुल्क तिर्नुपरेको बताए।“हामीले अग्रिम तयारी नगरेकाले यस्तो समस्या आएको रहेछ,” उनले भने।

पोखराबाट परिवारसहित मनाङ गएकी सिर्जना लामाले पनि साना बालबालिकाका लागि खाना र बस्ने ठाउँको अभावले यात्रा कष्टकर बनेको बताइन्।उनका अनुसार “सुत्नका लागि पनि पालो पर्खिनुपर्ने र सडकमा सवारीसाधनको लामो लाइनले यात्रा झन् कठिन बनेको” हो।

बुटवलका नवीन घिमिरे, जो ट्रेकिङका लागि मुस्ताङ पुगेका थिए, उनी पनि होटल नपाएर स्थानीयको घरमा अतिरिक्त शुल्क तिरेर बस्नुपरेको अनुभव सुनाउँछन्।त्यस्तै, चितवनकी गीता पौडेलले पाँच जनाको समूहमा मुस्ताङ यात्रा गर्दा गाडीमै रात बिताउनु परेको बताउँदै अग्रिम तयारीबिना यात्रा नगर्न सबैलाई आग्रह गरिन्।

पर्यटनको वृद्धि, तर व्यवस्थापनमा चुनौती

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार कोरला नाका खुलेपछि र सडक सहज बन्दै गएपछि पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको छ।
उनले भने, “पर्यटन व्यवसायका लागि यो सकारात्मक पक्ष हो, तर चाडपर्वको समयमा पर्यटकको भीड व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ।”

मुस्ताङका पत्रकार तथा होटल सञ्चालक सुशीलबाबु थकालीले पनि मुस्ताङमा आन्तरिक पर्यटकको उल्लेख्य वृद्धि भएको बताए।
उनका अनुसार दसैं–तिहारको लामो बिदा र सहज सडक पहुँचका कारण पर्यटक चहलपहल बढेको हो।
तर, “पर्याप्त जानकारी र पूर्वतयारीबिना आउने पर्यटकहरूले यहाँ भिडभाड र अव्यवस्था बढाएका छन्,” उनले भने।

थकालीका अनुसार, “सामाजिक सञ्जालमा मुस्ताङमा खाने र बस्ने ठाउँ केही छैन भन्ने गलत सन्देश फैलिएको छ, तर त्यो सरासर भ्रम हो।हामी अहिले पनि सेवा सुधारका लागि तयारीमा छौं।”

उनले पर्यटकहरूलाई अग्रिम बुकिङ र आवश्यक तयारीसहित यात्रा गर्न सुझाव दिए।
“अब तलबाटै यात्रा सुरु गर्नुअघि होटल र गन्तव्यबारे जानकारी लिएर आउनुपर्छ,” उनले भने।
उनका अनुसार सामुदायिक भवन, आमा समूहका भवन, वडा कार्यालयका भवन र सरकारी भवनहरूलाई पनि सिजनमा अस्थायी आवासको रूपमा प्रयोग गर्न सकिने सम्भावना छ।

पूर्वतयारीबिना यात्रा गर्दा स्वास्थ्य जोखिम पनि

मुस्ताङको भौगोलिक अवस्था र मौसममा आउने अचानक परिवर्तनले पनि पर्यटकलाई चुनौती दिने गरेको थकालीले बताए।उनका अनुसार आवश्यक कपडा, औषधि र तयारीबिना आउने पर्यटकहरू स्वास्थ्य समस्या भोग्न सक्ने भएकाले
“सुरक्षा, स्वास्थ्य र तयारीमा ध्यान दिनु अत्यावश्यक” रहेको उनले सुझाए।