
काठमाडौं : तिहार सकिएसँगै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन तिहारअघि भन्दा ११ हजार ६ सय रुपैयाँ कम हो।
कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तिहारपछि पहिलो पटक घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि कात्तिक ४ गते करिब ५ प्रतिशतले सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा आइतबारबाट देखिएको हो।
असोज ३१ गते सुनको भाउ इतिहासमै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा भने असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन अहिले घटेर ४१११ डलरमा झरेको छ। सार्वजनिक बिदाका कारण नेपालमा मूल्य समायोजन ढिला भएको र त्यो प्रभाव आजदेखि परिलक्षित भएको महासंघले जनाएको छ।