माइतीघरमा भेला भएका १६ जना जेनजीहरु पक्राउ

काठमाडौं: प्रहरीले माइतीघर मण्डलामा भेला भएका जेनजी समूहका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये डा. निकोलस भुसाल र सञ्जीव दाहाल पनि रहेका छन् । उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

भुसाल नेतृत्वको समूहले संविधान दिवसको अवसर पारेर शान्तिपूर्ण प्रदर्शन तथा कोषसभा आयोजना गर्ने घोषणा गरेको थियो । तर प्रहरीले सुरक्षा कारण देखाउँदै कार्यक्रम अघि नै अवरोध गरी सहभागीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सहभागीहरूले सामाजिक न्याय, पारदर्शिता र राजनीतिक सुधारका माग अघि सारेका थिए ।

माइतीघर मण्डला लामो समयदेखि विरोध र आन्दोलनको केन्द्र बिन्दु रहँदै आएको छ । पछिल्ला महिनाहरूमा जेनजी आन्दोलनका गतिविधि तीव्र भइरहेका छन् । प्रहरीले भने सार्वजनिक शान्ति सुरक्षा कायम राख्न कदम चालिएको दाबी गरेको छ ।