राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोड अनियमितता: १३ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन उपकुलपति प्रा. डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकमको अनियमितता गरेको अभियोग लगाएको छ ।

आयोगका अनुसार भण्डारीसँगै तत्कालीन कामु रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा र बायोमेडिकल इन्जिनियर सुजाता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

त्यसैगरी लुम्बिनी हेल्थकेयर प्रालि र सो संस्थाका अध्यक्ष पोष्टराज ज्ञवालीमाथि समेत संलग्नताको आरोप लगाइएको छ । अख्तियारले सबै प्रतिवादीविरुद्ध कैद सजाय र विगो जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

एमआरआई मेसिन खरिद प्रकरण स्वास्थ्य क्षेत्रकै ठूला अनियमिततामध्ये एक मानिँदै आएको छ । आयोगले यस प्रकरणले सार्वजनिक स्वास्थ्य क्षेत्रको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको बताएको छ ।