महेश बस्नेतको चेतावनी:ओलीलाई छोए देशभरि आगो बल्नेछ

काठमाडौं: नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सचेत गराउँदै एमाले नेतृत्व र नेतृत्वकर्तामाथि हात हाल्ने प्रयास नस्वीकारिने स्पष्ट सन्देश दिएका हुन् ।

‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्,’ बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासनविरुद्ध युथफोर्स बनाएर लडेका हामी आज पनि डराउँदैनौँ ।’ उनले हालका राजनीतिक चुनौतीलाई ‘नौटंकी’ भन्दै गृहमन्त्रीलाई सावधान रहन आग्रह गरे ।

बस्नेतले भ्रष्टाचार छानबिनमा सहयोग गर्न एमाले तयार रहेको पनि बताएका छन् । उनले भने, ‘हाम्रा बारेमा पनि छानबिन गर्नुस्, तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’ उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्ति स्रोतबारे प्रश्न उठाउँदै बालेन शाह र सुदन गुरुलाई समेत छानबिन गर्नुपर्ने माग गरे । साथै, उनले असोज २५ गते युवासंघले मोटरसाइकल र्याली गरी शक्ति प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।