
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० सूचीमा समावेश भएको छ । कक्षाकोठा र त्यसभन्दा बाहिर विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विद्यालयहरूको उत्कृष्ट अभ्यासलाई विश्वसामु ल्याउने लक्ष्यका साथ सन् २०२२ मा टी– ४ एजुकेसनले स्थापना गरेको हो ।
कोपिला भ्याली स्कुल स्वतन्त्र प्राथमिक र माध्यमिक गैरनाफामूलक विद्यालय हो । यसले आफ्नो ग्रीन स्कुल क्याम्पसमार्फत वातावरणीय दिगोपनलाई आफ्नो शैक्षिक नमुनाको रूपमा अघि बढाएको छ ।
यसले ४०० भन्दा बढी अति विपन्न बालबालिकाहरूलाई उच्च-गुणस्तरीय शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ । यसैका आधारमा, कोपिला भ्याली स्कुल वातावरणीय कार्यका लागि वर्ल्ड्स बेस्ट स्कुल पुरस्कारको शीर्ष १० मा पर्न सफल भएको हो । यो नेपालबाट वर्ल्ड्स बेस्ट स्कुल प्राइजको फाइनलमा पुग्ने पहिलो विद्यालय पनि हो ।
कम्युनिटी कोल्याबरेसन, इन्भाइरोन्मेन्टल एक्सन, इन्नोभेसन, ओभरकमिङ एडभर्सिटी र सपोर्टिङ हेल्दी लाइभ्स गरी पाँच विधाका आधारमा वर्ल्ड्स बेस्ट स्कुल २०२५ चयन हुनेछ । यसको विजेता विशेषज्ञ निर्णायक एकेडेमीले कडा मापदण्डका आधारमा चयन गर्नेछ ।
यसका अतिरिक्त, पाँचवटै विधाका ५० वटै फाइनलमा पुगेका विद्यालयहरूले सामुदायिक छनोट पुरस्कारको विजेता निर्धारण गर्न आजबाट सुरु भएको सार्वजनिक मतदानमा पनि भाग लिनेछन् । छवटै विजेताहरूको घोषणा अक्टुबरमा गरिनेछ ।
यी विश्वव्यापी विद्यालय पुरस्कारका विजेता र फाइनलमा पुगेका विद्यालयहरूलाई नोभेम्बर १५-१६ मा यूएईको अबुधाबीमा आयोजना हुने वर्ल्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ, जहाँ उनीहरूले आफ्ना अभ्यासहरू, विशेषज्ञता तथा अनुभवहरू नीति निर्माताहरू र विश्वका शिक्षाविद्हरूसँग आदानप्रदान गर्नेछन् ।
टी४ एजुकेसन तथा वर्ल्ड्स बेस्ट स्कुल पुरस्कारका संस्थापक विकास पोटाले वर्ल्ड्स बेस्ट स्कुल प्राइज २०२५ को फाइनलमा पुग्न सफल भएको कोपिला भ्याली स्कुललाई बधाई दिएका छन् । उनले यो प्रेरणादायी नेपाली स्कुलबाट विश्वभरका अगुवा तथा विद्यालयहरूले धेरै कुरा सिक्न सक्ने उनको भनाइ छ ।