‘जनप्रतिनिधि र कर्मचारीले लिएको बैठक भत्ताबारे प्रकाशित समाचारले भ्रम फैलायो’

खोटाङ : खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले आर्थिक वर्ष २०८०/०८१ मा लिएको बैठक भत्ताबारे एक अनलाईन समाचार पोर्टलमा आएको समाचारप्रति पालिकाले गम्भीर आपत्ति जनाएको छ ।

बुधबार प्रकाशित सो समाचार भ्रमपूर्ण, अपूर्ण तथा जनप्रतिधि र कर्मचारीको छवि बिगार्ने काम गरेको भन्दै बिहीबार पालिकाले प्रेस विज्ञप्ति जारी गरेको हो ।

समाचारको शीर्षकले त्यस्तो भ्रम फैलाएको र समाचार पूर्ण नभएको भन्दै पालिकाले सो आवमा भएको भत्ता खर्चको वास्तविक विवरणसमेत सार्वजनिक गरेको छ ।

‘तथ्य नबुझी, स्रोत जाँच नगरी प्रकाशित समाचारले पत्रकारिताको धर्ममाथि नै प्रश्न उठाउँछ’, अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशर्त अनुदान अन्तर्गत तोकिएकै शीर्षकमा खर्च भएको हुँदा पनि महालेखा परीक्षकको प्रतिवेदन २०८०/०८१ को वार्षिक प्रतिवेदनको दफा ७.२ मा औँल्याएको खर्चप्रतिसमेत गाउँपालिका असन्तुष्टि व्यक्त गर्दछ ।

पालिकाले चित्त नबुझेको विवरणमा सूचनाको हक प्रयोग गरी सूचना माग तथा सङ्कलन सम्बन्धित शाखाबाट लिन सकिने कुराको आत्मसात् गरेको बताइएको छ ।

विज्ञप्तिमार्फत् पालिकाले तथ्यहीन र भ्रामक सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार पालिकाले आव २०८०/०८१ मा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ४५ लाख २४ हजार खर्च भएको उल्लेख गरेको छ । पालिकाले वास्तविक रूपमा पादाधिकारी बैठक भत्तामा १ लाख विनियोजन गरेको जसमध्धे २७ हजार ६ सय खर्च भएको जनाएको छ ।

महालेखाको एकमुष्ठ प्रतिवेदनका आधारमा ‘भ्रम फैलिने गरी’ समाचार प्रकाशित भएको भन्दै पालिकाले समाचारको खण्डन गरेको अध्यक्ष अरुणादेवी राईले बताइन् ।