इन्दिरा रेग्मीको ‘अक्षरमा अनुभूति’ ले साहित्यिक आकाशमा उज्यालो छर्दै


काठमाडौं: शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको प्रांगणमा साहित्यको मन्दिर जस्तै उज्यालो बनेको थियो । त्यहाँ इन्दिरा रेग्मीको मुक्तकसङ्ग्रह ‘अक्षरमा अनुभूति’ को लोकार्पण भयो । फेसबुकमा समय–समयमा पोस्ट गरिएका उनका १७७ वटा मुक्तकहरूको यो सङ्ग्रहले पाठकको मन छुने भावनाको वर्षा गर्‍यो ।

इन्दिरा रेग्मी साहित्यिक क्षेत्रमा खुलेर बोल्ने, हँसिलो अनुहार र हरेकसँग मिल्ने स्वभावकी सर्जक हुन् । उनी जहाँ पुग्छिन्, त्यहाँ हाँसोको फूल फुल्छ र कविताको सुगन्ध फैलिन्छ । यही व्यक्तित्व झल्किने गरी उनका मुक्तकहरू पनि रसिला र चोटिला छन् — मीठो मिठाससँगै तिखो चोट दिने, जीवनका गहिरा अनुभूतिलाई शब्दको तीर बनाउने ।

mostbet

कार्यक्रम तोकिएकै समयमा सुरु भयो । राजन न्यौपानेको सञ्चालनमा चलेको यो समारोहमा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । प्रमुख अतिथि प्रा।डा। गोविन्दमान सिंह कार्कीले साहित्यिक विधाहरूको गहन चर्चा गर्दै नेपाली भाषाको इतिहास र मुक्तकको नियमबारे स्पष्ट पार्दै भने, “मुक्तक भनेको भावनाको सङ्क्षिप्त विस्फोट हो, जसले एउटै पङ्क्तिमा जीवनको सत्य बोल्छ ।”

विशेष अतिथि नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर शिव दाहालले इन्दिरा रेग्मीको अथक संघर्षको प्रशंसा गर्दै भन्नुभयो, “नुवाकोटको साहित्यिक फाँटमा इन्दिरा दिदीले एउटा इँट्टा थप्नुभएको छ । छोटो चिनजानमै उहाँको गीत र मुक्तकले मलाई प्रभावित बनायो । यी मुक्तकहरूले समाजको रूपान्तरणका लागि सकारात्मक सन्देश दिइरहेका छन् ।”

नोबेल साकोसको सहजिकरणमा भएको कार्यक्रममा साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमित्रा सुमितले कवितात्मक शब्दमा बधाई दिएकी थिइन् । प्रभात दीक्षित, निर्मलरमण पराजुली, सुशिला अधिकारी ढकाल लगायतका साहित्यकारहरूले पनि आफ्ना मुक्तक वाचन गर्दै इन्दिराको प्रतिभालाई सलाम गरे ।

कार्यक्रममा एउटा मुक्तकले विशेष ध्यान खिच्यो :

केही गरी म मरे भने एक थोपा आँसु झार्दै नझार्नु
स्वर्ग जान लागेको मान्छेलाई नर्कमा पार्दै नपार्नु
जिउँदो छँदा मैले गरेको मायाँलाई तिरस्कार गरेउ
त्यसैले बिर्सेर पनि एक छाक नुन बार्दै नबार्नु

यो मुक्तकले मात्र होइन, सङ्ग्रहका सबै मुक्तकले जीवनको पीडा, माया, समाज र आत्मानुभूतिलाई यस्तै चोटिलो तर रसिलो ढङ्गले प्रस्तुत गरेका छन् ।
‘अक्षरमा अनुभूति’ ले इन्दिरा रेग्मीलाई साहित्यिक क्षेत्रमा अझ चम्किलो बनाएको छ । यो सङ्ग्रहले पाठकलाई भन्छ – शब्दले मात्र होइन, हृदयले लेखिन्छ साहित्य । र इन्दिराको हृदय त सधैं खुलेको, हँसिलो र साहसी छ ।