
काठमाडौं : नेपाली साहित्य र चित्रकलाको नील आकाशमा शब्द र रङको एउटा दुर्लभ, जीवन्त र सौन्दर्यात्मक संयोग जन्मिएको छ ।
मुक्तककार देवेन्द्र के.सी. (देवु) को सूक्ष्म, तीखो र भावगर्भित मुक्तकहरूले भावनाको गहिरो तह छुन्छन् भने कलाकार महेश आचार्यको रङ्गीन क्यानभासले त्यही भावलाई जीवन्त रङमा बुनिदिन्छन् – यही अद्भुत मेल हो, ‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित गरिमामय समारोहमा यो कृति औपचारिक रूपमा पाठक तथा दर्शकसमक्ष सार्वजनिक गरिएको छ ।
समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणी हार्तमछाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । दुवैले आशीर्वचन दिँदै यस्ता अन्तरविधागत कृतिले नेपाली सृजनशीलताको क्षितिजलाई फराकिलो बनाउने र विधागत सीमारेखालाई चुनौती दिने बताए । प्रमुख अतिथि भूपाल राईले विशेष जोड दिँदै भने, “चित्रको आधारमा मुक्तक रचना गरिएको यो सायद पहिलो कृति हो । यसले नेपाली साहित्य र कलाक्षेत्रमा नयाँ बहस र नयाँ सम्भावना खोलिदिएको छ ।”
वरिष्ठ समालोचक महेश पौडेलले मुक्तकहरूको मन छुने सूक्ष्मता र चित्रसँगको सामीप्य प्रशंसा गर्दै भने, “देवुका मुक्तकहरूले पाठकको हृदयमा गहिरो छाप छोड्छन् । महेश आचार्यको चित्रले त्यही छापलाई रङ र आकार दिएर अझ जीवन्त र मोहक बनाएको छ । यो कृति पढ्दा मात्र होइन, हेर्दा पनि भावनात्मक रूपमा पूर्ण हुन्छ ।
त्यस्तै, नगेन्द्र प्रसाद पौडेलले चित्रकलाको समालोचना प्रस्तुत गर्दै महेश आचार्यको रङ प्रयोगको जीवन्तता र भाव अभिव्यक्तिको कलात्मकता उजागर गरे ।
स्रष्टाहरू देवेन्द्र के.सी. (देवु) र महेश आचार्यले आफ्नो सिर्जनात्मक यात्रा सुनाउँदै यो सहयात्रालाई ‘संयोगको आत्मा’ भने । देवुले सामाजिक सञ्जालबाट सुरु भएको यो सम्बन्ध छोटो समयमै कृतिका रूपमा फुल्नु सुखद र सौभाग्यपूर्ण संयोग भएको उल्लेख गरे । महेश आचार्यले भने, “मेरो फेसबुकमा अपलोड गरेका चित्रहरूसँग देवुका मुक्तकहरूको मेलले मलाई गहिरो सन्तोष मात्र दिएन, नयाँ सृजनात्मक ऊर्जा पनि दियो ।” दुवै स्रष्टाले पोखरा–स्याङ्जाको साझा कर्मथलो र अग्रज साहित्यकार तथा कलाकारहरूको प्रेरणालाई सम्झिए ।
यो कृति सामान्य पुस्तक होइन – यो शब्द र रङबीचको तीव्र, संवेदनशील तथा सौन्दर्यपूर्ण संवाद हो । जहाँ मुक्तकको एकै हरफले हृदयको गहिराइमा बग्छ र रङहरूले त्यही भावलाई क्यानभासमा जीवन्त, रङ्गीन र अमर बनाउँछन् । मुक्तकको सूक्ष्मता र चित्रको व्यापकता एकअर्कालाई पूरक बनेर उभिएका छन् । यसले नेपाली साहित्य र कलाक्षेत्रमा नयाँ आयाम थप्दै विधाहरूबीचको दीवार भत्काउने साहसी प्रयास गरेको छ ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा सम्पन्न समारोहमा उपकुलपति लालकाजी लामा, सन्ध्या पहाडी, पूर्वसचिव सुरेश आचार्य, साहित्यकार महेश्वर पन्त, ऋषभदेव घिमिरे लगायत साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन ऋषभदेव घिमिरेले गरेका थिए भने उपाध्यक्ष निर्मल रमणले स्वागत मन्तव्य राखेका थिए ।
समारोहको अन्त्यमा अध्यक्ष राजेन्द्र के.सी.ले उपस्थित सम्पूर्ण अतिथि तथा स्रष्टाहरूलाई धन्यवाद दिँदै कृतिका दुवै सर्जकलाई बधाई र शुभकामना व्यक्त गरे ।
‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ ले प्रमाणित गर्छ -जब शब्द र रङ इमान्दारितापूर्वक एकअर्कासँग मिसिन्छन्, तब सच्चा सौन्दर्य जन्मिन्छ र सिर्जनाले कालजयी रूप लिन्छ । यो कृति साहित्य र कलाप्रेमीहरूका लागि मात्र होइन, नेपाली सृजनशीलताको नयाँ अध्यायको रूपमा पनि इतिहासमा रहनेछ ।
