रिमा गुरुङ होडाको स्वर, गैरे सुरेशको संगीत र भुपेन्द्र महतको शब्दमा गजल ‘हल्ला’ सावजनिक (भिडियो सहित)

काठमाडौः गजलकार भुपेन्द्र महतका मानवीय भावना, प्रेमको स्वभाव, र मनको स्वतन्त्रतालाई निकै गहिरो रूपमा उजागर गरेको गजल ‘हल्ला’ सार्वजनिक भएको छ ।
हल्ला त हल्लै हुन्छ यसको कुनै आधार हुदैन
सिञ्चिन्छ यो हुस्सु झैं टाढा टाढा यसको भर हुदैन…
यस शेरमा गजलकार महतले ‘हल्ला’ अर्थात् अफवाह वा निराधार कुराहरूको स्वभावलाई अत्यन्त प्रभावकारी रूपमा चित्रण गरेका छन् । हल्ला कहिल्यै सत्यमा आधारित हुँदैन तर पनि त्यो छिट्टै फैलिन्छ हल्लालाई ‘हुस्सु’ अर्थात् ‘कुहिरो’ सँग गरिएको तुलना सान्दर्भिक छ, जसरी कुहिरोले केही समयका लागि दृष्टि धमिलो बनाउँछ तर त्यो स्थायी हुँदैन त्यस्तै हल्लाले पनि क्षणिक प्रभाव पार्छ तर त्यसको कुनै दीर्घकालीन आधार हुँदैन ।
गजलको यो पहिलो शेरले समाजमा फैलिने गलत सूचना, भ्रम र बिना प्रमाणका आरोपहरूको खुलेर आलोचना गरेको छ । गजलको शेर मार्फत गजलकार महतले मानिसले यस्ता हल्लामा विश्वास गर्नु हुँदैन किनकि तिनीहरू अस्थायी र आधारहीन हुन्छन् भन्ने भावलाई संकेत गर्दै सत्य सदैव स्थिर हुन्छ, तर हल्ला भने क्षणिक र अविश्वसनीय हुन्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ ।


तिमी सित खिचिएको यो मन तिमी तिरै गइरहन्छ
यो मनलाई थुनछेक गर्ने कतै कुनै सरकार हुदैन…
यस शेरको भाव फरक छ र प्रेमिल छ । गजलकार महतले यो शेरमा प्रेमको शक्तिशाली आकर्षण र मनको स्वतन्त्र स्वभावलाई व्यक्त गरेका छन् । जब मन कसैप्रति आकर्षित हुन्छ तव मन निरन्तर त्यही व्यक्ति तर्फ गहिरो रुपमा खिचिँदै जान्छ, तानिदै जान्छ । स्वच्छ प्रेममा हुने गहिरो आकर्षण संगाल्ने ‘मन’ लाई गजलकारले स्वतन्त्र र नियन्त्रण बाहिरको तत्वका रूपमा प्रस्तुत र परिभाषित गरेका छन् ।
गजलको यो शेरमा प्रयोग भएको “सरकार” शब्द प्रतीकात्मक छ जसले कुनै पनि प्रकारको बाह्य नियन्त्रण, नियम वा शक्तिलाई जनाउँछ । गजलकार महतले भन्न खोजेका छन् कि प्रेममा परेको मनलाई कुनै नियम, कानून, सामाजिक बन्धन, वा अधिकारले रोक्न र छेक्न सक्दैन । मनको गहिरो भावना कुनै कानुनी वा सामाजिक संरचनाले नियन्त्रण गर्न सक्दैन । प्रेम आफैमा स्वाभाविक, स्वतःस्फूर्त र स्वतन्त्र अनुभूति हो जहाँ तर्कभन्दा भावना अधिक शक्तिशाली हुन्छ भन्ने भाव गजलको यो शेरले बोलेको प्रतीत हुन्छ ।

मन मुटुको खेल रै छ यो माया पिरतीको संसार
जति खेल खेले पनि मायामा जीतहार हुदैन…
गजलकार महतले यो शेर मार्फत प्रेमलाई “खेल” सँग तुलना गरेका छन् तर यो सामान्य खेल भने होइन, प्रेम सामान्य खेल भन्दा धेरै नै फरक छ । गजलको यो शेरमा प्रेमको संसारलाई यस्तो खेलका रूपमा प्रस्तुत गरिएको छ जहाँ न त कसैले पूर्ण रूपमा जित्छ न त हार्छ । प्रेममा दुबै पक्ष भावनात्मक रूपमा बाँधिन्छन् र त्यहाँ प्रतिस्पर्धा होइन अनुभूति प्रधान हुन्छ ।

गजलको यो शेरमा प्रेममा “जीतहार हुदैन” भन्ने अभिव्यक्तिले प्रेमको समतामूलक र गहिरो स्वरूपलाई देखाउँछ । प्रेममा हार्नु पनि एक प्रकारको जीत हुन सक्छ किनकि त्यहाँ आत्मसमर्पण, समर्पण र आपसी समझदारी हुन्छ । यसले प्रेमलाई गणनात्मक वा प्रतिस्पर्धात्मक दृष्टिले होइन भावनात्मक र आत्मिक सम्बन्धको रूपमा बुझ्नुपर्ने सन्देश दिन्छ ।
गजलकार भुपेन्द्र महतका गजलका यी तीन शेरहरूले जीवनका तीन महत्वपूर्ण पक्षहरूलाई समेटेको अनुभूति हुन्छ । समाजमा फैलिने भ्रम (हल्ला), मनको स्वतन्त्रता र प्रेमको गहिरो तथा रहस्यमय स्वभाव । गजलकार महतले गजल ‘हल्ला’ मार्फत सरल शब्दहरूमा गहिरो जीवनदर्शन र प्रेमिल भाव प्रस्तुत गरेका छन् जसले दर्शक, श्रोता र पाठकलाई गहिरो रुपमा सोच्न र आफ्नै अनुभवसँग तुलना गर्न प्रेरित गर्दछ ।

गजलकार भूपेन्द्र महतको यी गजलका शेरहरुमा संगीतकार गैरे सुरेशको संगीत तथा गायिका रिमा गुरुङ्ग होडाको सुमधर स्वर रहेको छ जुन गजल संगीतकार गैरे सुरेशको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ भने भिडियोमा कृति तामाङ्ग, रविना कार्की र सजन नेपालको मुख्य अभिनय देख्न सकिन्छ ।
गजलको संरचनात्मक र पारम्परिक मेहफिललाई समेत दर्शाईएको यस गजलको भिडियोमा अर्केष्ट्रा प्रस्तुतिलाई केन्द्रिय रुपमा राखिएको छ । एपिएफ अर्केष्ट्रा समुहको प्रस्तुति रहेको भिडियोमा देव राई, सम्पूर्ण लामा, बिपु श्रेष्ठ लगायतको प्रत्यक्ष बाद्यवादन रहेको छ । अर्जुन न्यौपानेको छायाँकनमा निर्माण भएको भिडियोलाई सन्दिप भुजेलले निर्देशन गरेका छन् भने आर्यन पोख्रेलले सम्पादन गरेका छन् ।निर्देशक भुजेल स्वयंको कोरियोग्राफी रहेको भिडियोका परिकल्पनाकार अविनाश श्रेष्ठ हुन् । मेघराज धिमाल प्रोडक्सन म्यानेजर रहेको ‘हल्ला’ गजलको भिडियोलाई पि प्रोडक्सन ग्यालरी हाउसले बजारमा ल्याएको हो ।


भुपेन्द्र महतको शब्द रहेको गजल थोरै समयमा दर्शक, श्रोताको मन जित्न सफल भएको छ । सार्वजनिक भए लगत्तै गजल ‘हल्ला’ इमेज एफ.एम. ९७.९ मा साता को संगीत सङ्ग अफ दि विक मा छनौट भई प्रशारण भइरहेको छ । आफ्‌नो गजलको यो सफलता र लोकप्रियताले आगामी दिनमा अझ ओजपूर्ण गजल लेख्न प्रेरणा मिलेको हाल अमेरिकमा रहेका गजलकार भुपेन्द्र महतले बताएका छन् । यति विशिष्ट र गहिरो भाव बोकेको गजलमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै संगीतकार गैरे सुरेशले आगामी दिनमा पनि गजलकार भुपेन्द्र महत संगको सहकार्यमा यस्तै सुमधुर गजल पस्कने विश्वास व्यक्त गरेका छन् ।

गजल ‘हल्ला’ को भिडियो हेर्नुहोस् !
https://www.youtube.com/watch?v=YXFY0uIdNV4