दैलेखका ऐतिहासिक स्थलमा छायांकन गरिएको ‘राम नाम सत्य’को दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक

 

काठमाडौं: दैलेखका ऐतिहासिक स्थल पञ्चदेवल र कोतगढीमा छायांकन गरिएको फिल्म ‘राम नाम सत्य’को दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको यस गीतले यतिबेला दर्शकमाझ थप उत्साह सिर्जना गरेको छ।

यसअघि सार्वजनिक भएको ‘धागोले बाटेको’ गीतले टिकटकमा २ लाखभन्दा बढी भिडियो र युट्युबमा ४० लाखभन्दा बढी भ्यूज पाउँदै व्यापक चर्चा कमाइरहेको अवस्थामा नयाँ गीतले पनि फिल्मप्रतिको चासो अझ बढाउने अपेक्षा गरिएको छ।

युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखिएको ‘हुम्लाको लिमी’ गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीकै संगीत तथा मौसम अर्यालको शब्द रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको भिडियोमा अभिनेता विराज भट्ट र नव-अभिनेत्री खुसी कार्कीको आकर्षक नृत्य देख्न सकिन्छ।

कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बनेको फिल्ममा विराज र खुसीसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्वर्गीय सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ। चर्चित टिकटकर आयुषले यसै फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका हुन्।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ।