सूर्य उपासना र आस्थाको पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न

काठमाडौं: सूर्य उपासना र आस्थाको महान् पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिभावका साथ सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको चारदिने यो पर्व सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर विधिवत् रूपमा समापन गरिएको हो।

व्रतालुहरूले विहान सबेरै नजिकका नदी, ताल, पोखरी र छठघाटमा पुगेर सूर्य देवताको आराधना गर्दै परिवारको दीर्घायु, समृद्धि र सुख–शान्तिको कामना गरे। यस पर्वमा सूर्य देव र उनको बहिनी ‘छठी माई’को पूजा आराधना गरिन्छ।

काठमाडौं उपत्यकामा गुह्येश्वरीस्थित गौरीघाट, कमलपोखरी, बागमती किनार लगायतका ठाउँमा भक्तजनको ठूलो भीड देखिएको थियो। त्यस्तै तराई–मधेशका जिल्लाहरूमा पनि छठ पर्व उत्साहपूर्वक मनाइएको छ।

यस वर्ष काठमाडौंको गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्रै करिब पाँच लाख भक्तजनले छठ पूजा गरेका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति, उज्यालो सजावट र छठगीतको मधुर स्वरले वातावरण श्रद्धामय बनेको थियो।

छठ पर्व नेपाली समाजमा सूर्यको जीवनदायी शक्ति, स्वच्छता, संयम र समर्पणको प्रतीक मानिन्छ। चार दिनसम्म चल्ने यो पर्वमा व्रतालुहरूले उपवास, नदीस्नान र अर्घ्य अर्पण गरेर सूर्यप्रति आस्था प्रकट गर्छन्।