
काठमाडौं : अस्ट्रेलियाले १६ वर्ष मुनिका किशोर-किशोरीका लागि ल्याउन लागेको सामाजिक सञ्जाल प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको छ। यसअघि छुट दिइने भनिएको युट्युबलाई सरकारले अन्तिम समयमा प्रतिबन्धमा राख्ने निर्णय गरेको हो।
डिसेम्बरबाट लागू हुने यो प्रतिबन्ध अन्तर्गत टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स (ट्विटर) र स्न्यापच्याटसँगै अब युट्युबमा पनि १६ वर्ष मुनिका बालबालिकाले खाता बनाउन नपाउने भएका छन्। भिडियो हेर्न त सकिनेछ तर खाता बिना सामग्री अपलोड वा प्रतिक्रिया जनाउन रोक लगाइनेछ।
युट्युबले आफुलाई “सामाजिक सञ्जाल नभएको” भन्दै छुट मागेको थियो। तर सरकारले प्रबन्ध लगाउने निर्णय गरेको हो । १०–१५ वर्ष उमेर समूहका बालबालिकाहरूले हानिकारक सामग्री सबैभन्दा बढी युट्युबमै देखेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
प्रधानमन्त्री एन्थोनी आल्बानिजेले सामाजिक सञ्जालले बालबालिकामा सामाजिक हानि पुर्याएको बताउँदै यो प्रतिबन्धले “अभिभावकको पक्षमा सरकार उभिएको संकेत” दिएको बताए।
संघीय सञ्चारमन्त्री अनिका वेल्सले भने, “सामाजिक सञ्जालको ठाउँ त छ, तर बालबालिकालाई लक्षित गर्ने एल्गोरिदमको होइन।” कानुनी धम्कीबाट नडराइ बालबालिकाको सुरक्षाका लागि कडा कदम चालिएको उनले स्पष्ट गरिन्।
प्रतिबन्ध नमान्ने प्रविधि कम्पनीहरूलाई ५ करोड अष्ट्रेलियन डलरसम्म जरिवाना लाग्न सक्छ। नयाँ खाता खोल्न निषेध, पुराना खाता बन्द गर्ने, र सबै ‘वर्कराउन्ड’ रोक्ने कडाइको नियम लागू हुनेछ।