
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लव पुनः समाजवादी मोर्चाको संयोजक चयन भएका छन्। मंगलवार बसेको मोर्चाको बैठकले विप्लवलाई पुनः संयोजक बनाउने निर्णय गरेको हो।
नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा सम्पन्न बैठकमा मोर्चाको गठनपछिको समीक्षा र आगामी योजनाहरूमा छलफल भएको थियो। समीक्षाका क्रममा विप्लवले मोर्चा जनसामान्यसँग प्रभावकारी रूपमा जोडिन नसकेको बताउँदै, केही समयका लागि मोर्चाको गतिविधि स्थगन गर्न सकिने र आवश्यकताअनुसार पुनः सक्रिय बनाउन सकिने सुझाव दिएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले विप्लवको धारणा समर्थन गरेका थिए। प्रचण्डले मोर्चाको नेतृत्वमा विप्लवलाई दोहोर्याउने प्रस्ताव राख्दै भने, “संयोजकको पालो माओवादीको भए पनि विप्लवजीमा देखिएको गम्भीरताका कारण नेतृत्व फेरबदल आवश्यक छैन।”
प्रचण्डको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेपछि विप्लव पुनः संयोजक बनेका हुन्। बैठकले सातै प्रदेशमा सरकारप्रति खबरदारी गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। आगामी थप कार्यक्रमको जिम्मा मोर्चाको सचिवालयले लिनेछ।
२०७९ असार ४ मा गठन भएको समाजवादी मोर्चामा प्रारम्भमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी थियो, तर हाल जसपा मोर्चामा छैन। मोर्चा गठनका क्रममा ६/६ महिनामा संयोजक फेर्ने सहमति भए पनि यसपटक आलोपालोको सिद्धान्तभन्दा कार्यक्षमता प्राथमिक ठानिएको देखिएको छ।