

धादिङ: धादिङको गल्छीमा अवस्थित करदाता सेवा कार्यालय श्रावण १ गतेदेखि आधिकारिक रूपमा आन्तरिक राजश्व कार्यालयमा परिणत भएको छ। यस परिवर्तनसँगै अब धादिङ, नुवाकोट र रसुवा जिल्लाका करदाताहरूले कर सम्बन्धी सम्पूर्ण सेवा गल्छीबाटै प्राप्त गर्न सक्ने भएका छन्।
यसअघि कलंकी र बालाजुस्थित आन्तरिक राजश्व कार्यालयबाट प्रदान गरिँदै आएको करसम्बन्धी सबै सेवा अब गल्छीमै उपलब्ध हुने भएकाले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ।
कार्यालय प्रमुख लक्ष्मी खड्काका अनुसार अब कर तिर्ने, नविकरण गर्ने मात्र नभई कर छलीसम्बन्धी अनुसन्धान, कारबाही र निगरानीसमेत गल्छीबाटै हुनेछन्।
“अब कलंकी जानुपर्दैन, करसम्बन्धी सम्पूर्ण सेवा यही कार्यालयबाटै पाउने गरी काम सुरु गरेका छौँ,” प्रमुख खड्काले बताइन, “कार्य विस्तारसँगै हाम्रो सेवा क्षमतामा पनि वृद्धि भएको छ।”
गल्छी आन्तरिक राजश्व कार्यालयले अब साना मात्र होइन, ठूला करदाताहरूलाई समेत समेट्ने गरी सेवा प्रवाह सुरु गर्ने जनाएको छ।
कार्यालयको अनुमान अनुसार तीनै जिल्लामा हाल करिब १ लाख करदाताहरू रहेका छन्, जसमा धादिङ र नुवाकोटबाट मात्र ६० हजार हाराहारीमा करदाता रहेका छन्।
यस परिवर्तनसँगै स्थानीयस्तरमै कर सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने भएपछि करदाताहरूलाई थप सहज, छरितो र प्रभावकारी सेवा दिने लक्ष्य राखिएको बताइएको छ।