
निराज रानाभाट
लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–९ बाङ्ग्रेमा अवस्थित कोलबोटे ठाँटी ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । स्थानीय स्रोत र श्रमको भरमा वि.सं. १९७५ सालतिर निर्माण गरिएको यो ठाँटी एक समय गाउँको शैक्षिक, सामाजिक र प्रशासनिक गतिविधिको केन्द्र रहँदै आएको थियो ।
यस ठाँटीमा गुरुकुल शिक्षा, गाउँका न्याय निसाफका छलफल, विकास योजनाको निर्णय, साथै फिरन्ते साधु-सन्तको बासस्थान जस्ता गतिविधि सञ्चालन हुने गर्दथे । यहाँबाट राज्यका कर्मचारीहरूले धुरी कर, मालपोत लगायतका कर तथा राजस्व पनि उठाउने गर्दथे भन्ने उल्लेख छ ।
कोलबोटे ठाँटी वरपर आँपको बगैंचा, पँधेरो, पोखरी, कान्जिहाउस, धर्म भकारी जस्ता संरचनाहरू रहेकोमा केही नष्ट भइसकेका छन् भने केही अझै अस्तित्वमा छन्। यस क्षेत्रलाई कोलबोटे नाम कसरी रह्यो भन्ने विषयमा, तोरी पेल्ने ढुङ्गे कोलको अवशेष फेला परेसँगै यसको ऐतिहासिक प्रमाण थप सुदृढ भएको देखिन्छ।
अहिले पनि यहाँ भगवान् शिवलगायत दर्जनौं देवीदेवताका मन्दिरहरू रहेकाले धार्मिक कार्यक्रमहरू – भजन, कीर्तन, प्रवचन जस्ता गतिविधि निरन्तर चलिरहने गर्छन् । तर यस्तो महत्त्वपूर्ण क्षेत्रमा अझै पनि शौचालयको अभाव र पुरानो ठाँटी संरचना जीर्ण अवस्थामा रहेको स्थानीयवासीहरूले बताएका छन्।
सुरुमा ६ फिट अग्लो सालकाठको पिलर प्रयोग गरी बनाइएको उक्त ठाँटीलाई कालान्तरमा क्षयीकरण भएपछि काटछाँट गरिएर होचो बनाइएको थियो। अहिले त्यो पनि भत्किन लागेको अवस्थामा छ।
त्यसैले यहाँका बासिन्दाले कोलबोटे ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै नविकृत टहरो वा बहुप्रयोगी भवन निर्माणका लागि मध्यनेपाल नगरपालिकामा औपचारिक माग राखेका छन्।
स्थानीय इतिहास, धार्मिक आस्था र सामुदायिक समृद्धिको दृष्टिकोणले यो क्षेत्रमा तत्कालीन संरचनाको पुनर्निर्माण र संरक्षण अत्यावश्यक भएको स्थानीयको भनाइ छ।