भुम्लु गाउँपालिकाका विद्यालयहरूमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

काभ्रे : रास्ट्रिय आदिबासी जनजाति महिला मञ्चको आयोजनामा काभ्रेको भुम्लु गाउँपालिकास्थित विभिन्न विद्यालयहरूमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

जनता माध्यमिक विद्यालय र प्रकाश उच्च माध्यमिक विद्यालयमा फ्लिपचार्टमार्फत विद्यार्थीहरूलाई जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरण उपायबारे जानकारीमूलक सत्र सञ्चालन गरिएको हो। यसअघि पनि सारदा माध्यमिक विद्यालय, बागदेवी र अन्य सार्वजनिक आधारभूत विद्यालयहरूमा यस्ता कार्यक्रम गरिएका थिए भनी सामाजिक परिचालक रिता पहरीले जानकारी दिएका थिए।

कार्यक्रमको उद्देश्य जनजाति महिलाहरूलाई समेटेर उनीहरूको नेतृत्व विकास, जलवायु अनुकूलन क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरण गर्नु रहेको पनि उनले बताएका थिए।

सलासन क्यानडाको आर्थिक सहयोगमा सलासन नेपाल र रास्ट्रिय आदिबासी जनजाति महिला मञ्चको सहकार्यमा सञ्चालित यो परियोजना हाल काभ्रेका दुई स्थानीय तहमा कार्यान्वयनमा रहेको छ। परियोजनाअन्तर्गत हालसम्म १३ वटा आदिबासी जलवायु महिला समूह गठन गरिएका छन्। ती समूहमार्फत फलफूलका बोट बिरुवा रोपण, पकेट क्षेत्र विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थापन लगायतका क्षेत्रमा कार्य भइरहेको कार्यक्रम संयोजक सन्जु लामाले बताएका थिए।

उनका अनुसार यो परियोजना २०८१ सालदेखि शुरू भई २०८३ को पौषसम्म सञ्चालन हुनेछ।