
काठमाडौं : देशभरका कार्यक्रम आयोजक तथा ईभेन्ट व्यवस्थापकहरूको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको तेस्रो महाधिवेशन एवं चुनावी सभा २०८२ भव्य रूपमा सम्पन्न भएको छ। सो महाधिवेशनबाट राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन्। आगामी दुई वर्षका लागि निर्वाचित १३ सदस्यीय नयाँ कार्यसमिति राजधानीको लाजिम्पाटस्थित बुटिक होटलमा सम्पन्न अधिवेशनबाट चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखरेल, कोषाध्यक्षमा मनोज थापा निर्विरोध निर्वाचित भएका छन्। यस्तै, सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की रहेका छन्।
निर्वाचन प्रक्रिया संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार बीएम आचार्य र अधिवक्ता केशव पोखरेलको संयोजनमा सम्पन्न भएको थियो। प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगर तथा विशिष्ट अतिथि डा. अर्पणा शाहले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र र शुभकामना प्रदान गरेका थिए।
महाधिवेशनमा देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सक्रिय सहभागिता रहेको थियो। अधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र टिचिङ अस्पतालका प्राध्यापक तथा लायन्स क्लबका पूर्व गभर्नर डा. सुशिला मल्ललाई सल्लाहकारमा चयन गर्दै सम्मान पनि गरेको थियो।
संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको उक्त कार्यक्रममा सहजीकरण वरिष्ठ पत्रकार बीएम आचार्यले गरेका थिए।