
मोरङ: कवि प्रिन्स प्रमोदकुमार ढकालको पहिलो कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ। विराटनगरस्थित राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भव्य साहित्यिक समारोहका बीच उक्त कृतिको विमोचन गरिएको हो।
विराट साहित्य सङ्गमको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथिका रूपमा गरेका थिए भने छवि वैरागी घिमिरे, प्रा. डा. हरिहर भण्डारी, प्रा. एकराज भट्राई, डा. देवी पन्थी, शोभा लामा बल, सरला चापागाईं, तथा बलराम पोखरेल जस्ता विशिष्ट स्रष्टाहरूले आफ्नो उपस्थितिबाट कार्यक्रमलाई गरिमा प्रदान गरे।
नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल र सङ्गम अभियान मासिकका प्रधान सम्पादक रामबाबु दाहालले कृतिमाथि समालोचनात्मक टिप्पणी गर्दै पुस्तकको भाव, भाषा, शिल्प र सन्देशमूलक पक्षहरूको समीक्षात्मक अवलोकन गरेका थिए।
कार्यक्रममा सुमन पोखरेल, उमानाथ भट्टराई, रोहिणी रसिक, केशु विरही, सीमा आभाष, रमेश निरौला, मञ्जुश्री गिरी, भूपाल अधिकारी, नानुमैया दाहाल, ऋषि तिवारी, हेमसागर पोखरेल, लगायतका तीन दर्जनभन्दा बढी साहित्यकार र कविहरूको उपस्थितिले कार्यक्रममा रंग थपेको थियो।
विभिन्न स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरी साहित्यिक वातावरणलाई झनै सजीव बनाएका थिए। साथै, लेखकका दाजु मनोज ढकाल, डा. छवि वैरागी घिमिरे, भीम कोइराला लगायतले शुभकामना मन्तव्य राख्दै कवि ढकालको सिर्जनात्मक यात्राको सफलताको कामना गरे।
विगत लामो समयदेखि लेखन यात्रामा समर्पित कवि ढकालको यो पहिलो प्रकाशित कृति हो। विराट साहित्य सङ्गमद्वारा प्रकाशित यस संग्रहमा विविध विषयवस्तु समेटिएका ५६ ओटा कविता समावेश छन्, जसले व्यक्तिगत अनुभूति, सामाजिक यथार्थ, प्रेम, पीडा र समय चेतनालाई प्रभावशाली ढंगले उजागर गरेका छन्।
कार्यक्रमको अध्यक्षता विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलले गरेका थिए भने सञ्चालन स्रष्टा गोपाल निर्भीकले आकर्षक शैलीमा गरेका थिए।
यो लोकार्पण कार्यक्रमले न केवल लेखकको सृजनशील प्रयासलाई सम्मानित गर्यो, तर विराटनगरको साहित्यिक वृत्तलाई पनि सजीव, संगठित र समृद्ध बनाउने प्रेरणा प्रदान गर्यो।