
काठमाडौं : स्वास्थ्य पत्रकारितामा लामो समयदेखि क्रियाशील पत्रकार सरोज ढुंगेल ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएकाछन ।
स्व. सुदर्शन देवकोटाको १८ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा ढुंगेललाई सम्मान गरिएको हो। कार्यक्रमको आयोजना स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको हो भने सहकार्य शारदा सुदर्शन देवकोटा फाउन्डेसनको रहेको थियो।
फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले पुरस्कारले स्वास्थ्य पत्रकारितामा क्रियाशील व्यक्तिहरूलाई हौसला दिने विश्वास व्यक्त गरिन ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य पत्रकारहरूसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै स्वास्थ्य क्षेत्रमा भइरहेका बेथितिहरूविरुद्ध कलम चलाउन आग्रह गरेका थिए ।
वरिष्ठ पत्रकार उमेश चौहानले स्व. देवकोटाको योगदानको चर्चा गर्दै स्वास्थ्यकर्मी र नीतिगत विषयमा पत्रकारले अझ गहिरो अध्ययनसहित आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए ।
पुरस्कार प्राप्त गर्दै पत्रकार ढुंगेलले यो सम्मानले आफूलाई थप जिम्मेवारीपूर्वक कार्य गर्न प्रेरणा मिलेको बताए ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादक, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।