संविधानको धारा ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? :प्रधानन्यायाधीश

काठमाडौं : संसद विघटनविरुद्ध परेको रिटमा बुधबारबाट संवैधानिक इजलासमा बहस सुरु भएको छ । रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका छन् ।

दुवैले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैध भएको तर्क गरेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘७६(२) को विश्वासको मत नपाएर ७६(३) को सरकार बनेको हो । ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?’

mostbet

२७ वैशाखमा विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली ३० वैशाखमा ७६(३) अनुसार संसद्को सबभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री नियुक्त भएका थिए । तर उनले ७६(४) अनुसार संसदमा विश्वासको मत लिएनन् ।

अघिल्लो पटक विश्वासको मत नपाएको र परिस्थिति नफेरिएको भन्दै उनले मार्गप्रशस्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराए र राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिन् ।

अधिवक्ता बन्दीले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गरें भनेको र दलहरुले त्यसलाई स्वीकार गरेकाले सरकार गठनको प्रक्रिया ७६(५) मा पुगेको बताएका छन् ।