नेपालमा कोरोनाको डेल्टा र अल्फा भेरियन्ट पुष्टि

 

फाइल फोटो

काठमाडौं :नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को थप नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

mostbet

वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा रहेको आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो । ती नमुनाको जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७)पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएको र यसलाई एवाई.१ नाम दिइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । अहिलेसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा अहिलेसम्म भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘यी भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । त्यसैले सङ्क्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्नरगराउन भूमिका बढाउन सबैको जानकारीका लागि अपिल गर्दछौँ’​, मन्त्रालयले भनेको छ