कविता- प्रतिपक्ष :सुस्मिता अर्याल

हजुरकाे हृदय विधानले
निषेधित गरे पनि
याे हृदयकाे प्राथमिकतामा छन्
ती गल्लीका यात्राहरु,

हजुरकाे विचार मस्यौदाले
माैन व्रतकाे आदेश दिए पनि
मुनाकाे देशबाट
निस्किरहनेछन् जुलुसहरु,

mostbet

हजुरकाे कानुनले
अवैध घाेषणा गरे पनि
रसाइरहने छन् दिलकाे मुहानमा
प्रेमका प्यासहरु,

हृदयेश्वर !
कहिलेकाहीँ
जातिविधी न्यास्रिन्छन् नजरहरु
दर्शनकाे लालचमा,

जातिविधी आतिन्छन् कानहरु
हजुरलाई सुन्ने अभिलाषामा,

जातिविधी अतालिन्छ हृदय
स्पर्शकाे प्रलोभनमा ,

बस माग यति नै हाे
न्यास्रिएका नजरहरु तृप्त हाेउन्,
आतिएका कानहरु शान्त बनुन्,
र अतालिएकाे हृदय परितुष्ट बनाेस्,

जिन्दगी यसै सार्थक बन्ने छ ।

 

©सुस्मिता अर्याल