
निराज रानाभाट , रुकुम पश्चिम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर – ०१ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ ।

आठबीसकोट नगरपालिका – ०१ , चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर के.सी. ले जानकारी दिए । आठबीसकोट नगरपालिका – ०३ खदीमा रहेको डोजर दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगर प्रमुख के.सी. ले बताए ।
बिहीबार पनि हेलिकप्टर गोतमकोट पुगेर डोजरका सामग्री ढुवानी गरेको थियो । आठबीसकोट नगरपालिका वडा नम्बर – ०१ मा रहेको साजेबगर – चैतिखारा – बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तीले बताए । दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नुपरेको नगर प्रमुख के.सी. को भनाइ छ ।
आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।