
संसारमा ख्याति प्राप्त व्यक्तित्वहरुको आ–आफ्नै सङ्घर्षका कथाहरु रहने गरेका छन् । छोटो जिन्दगीमा सबलाङ्ग रहेर नाम कमाउनु र ठूलो मान्छे हुनुमा सायद त्यति गर्वानुभूति नहोला जति आफ्ना शरीरका अङ्गहरु गुमाएर गरिन्छ । दुनियाँमा त्यस्ता व्यक्तित्वहरु हातमा गन्न पुग्ने छन् । जसले संसारमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएका छन् । यिनीहरुकै बिचमा, २०७२ वैशाख १२ को महाभूकम्पमा परि आफ्ना दुवै खुट्टाहरु गुमाएका र पौडीवाज भएर, ह्विलचेयर म्याराथनर, बास्केटबल प्लेयर, टेबलटेनिस प्लेयर भएर, भिन्नै किसिमले सक्षमहरुमा राम्रो नर्तक भएर, उभिएका छन् रमेश खत्री ।
उनी आफ्ना दुबै खुट्टाको साहारा गुमाएर पनि सारा राष्ट्रलाइ गौरवान्वित बनाउन सफल भएका छन् । यी विविध क्षेत्रहरुमा अब्बल उत्रेका खत्री मुख्यत नेपाल राष्ट्रको पारा पौडीवाज (स्विमर) भएर चिनिएका छन् । उनी, आज अरुबाट प्रेरणा पाएर सबैको प्रेरणा प्रदायक हुन सफल भएका छन् ।
दैलेखको महाबु गाउँपालिका वडा नमबर ३,बाँसी मा जन्मिएका रमेशका बुवाआमा घरको आर्थिक अवस्थाका कारण रोजगारको शीलशिलामा भारततिर आउने जाने गरिरहन्थ्ये र उनी पनि बुवाआमासँग भारत जाने आउने गर्दथ्ये त्यसपश्चात उनको पनि भारत र नेपालको गाउँमा बेलाबखत्को यात्रा तय भएको पाइन्छ । आर्थिकावस्थाकै कारण ८ कक्षासम्म मात्र पढाइ सकेर उनी भारततिर काममा लागेका थिए । घर परिवारमा जेठो भएकैले पनि उनी परिवारको आशा जिम्मेवारी आफूमा रहेको महशुश गर्थे ।
भारतमा गएर पनि उनले भाँडा माँझने, घर बनाउने काम गथ्र्ये पछी उनी पुनःआफ्नै गाउँ फर्किए घर आएको केहि समयपछी उनी घरबाट भागेर काठमाडौँ हान्निए १४ वर्षको कलिलो उमेरमै र बडो धपेडीपश्चात बालाजुको एक होटलमा भाँडा माँझ्ने काममा लागे । त्यसपछि घरमा भाइबहिनीको पढाइको हेरचाह, आमाबुवालाइ लत्ताकपडाको जोहो गर्नेतिर लाग्दै उनी जुठा भाँडामा आफ्ना कर्मका रेखाहरु खोज्न तल्लीन भए ।
वि.स. २०७२ वैशाख १२को अविस्मरणीय घटनाक्रमले उनको भविष्य र भविष्यप्रतिको सोच सबै एक किसिमले उजाड बनाइदियो । गोंगबुको भूमिश्वरी गेष्ट हाउसको चमेनागृहमा खाना खाँदै गरेको अवस्थामा पृथ्वीको कम्पनले उनको भोलिपल्ट घर जाने सोच, तुह्यायो । चार गेष्टहाउसहरु अटेको भवनको आठौँ तल्लामा रहेको चमेनागृहबाट जोगिन भाग्दा, उनको होश टाउको बजारिनाले हरायो । जहाँ माथि रहेका तल्लाहरु झरेर मान्छेहरुका प्राणपखेरु उडाउन थालिसकेको थियो । भ¥याङ्गमा कसैको रगतमा चिप्लिनाले नै उनी होशबाट टाढिन पुगेका थिए तर चाँडै नै होश फिरेकाले उनमा चेतचाहिँ थियो कि उद्दारकर्ताहरुले निकाल्छन् भन्ने ।
त्यतिखेरसम्म उनीमाथि भवनका कति बिमहरु थुप्रिएका थिए, कोको साथमा थिए, कताकता चोटपटक लागेको थियो भन्ने चेत भने थिएन । सँगै भागेको साथी पनि त्यतै कतै थिचिएको, पुरिएको भन्ने अर्धचेत उनमा थियो र आवाज सुनेर चिनेका थिए । होशमा आएदेखि कराउन थालेका उनले आफूले चिनेको माइला दाइ ट्याक्सी ड्राइभरले आफ्नो आवाज सुनेर उद्दारकर्मी र पुलिसहरु मिलेर निकाल्न भूमिका खेलेको अर्धचेतमा सम्झिराखे । सबैको भागाभागमा जीवितै देखिएका अनुहारहरुमा ३० अनुहारहरु प्राणविहीन् पल्टिएका थिए ।
कत्ति च्यापिएका, थिचिएका, लडेका थिए र उनी भने उद्वारकर्ता अनि प्रहरीका सहयोगबाट टिचिङ्ग अस्पताल पुगे । त्यहाँ पुग्दासम्म होशमा रहेका रमेश तीन दिनपछि बिउँझिए र आफ्नो पेटमा अप्ठेरो दुखाइ जुन अप्रेशनपूर्व उपस्थित थियो । त्यसबाट मुक्त थिए तर खुट्टा अनि पेटमा प्लाष्टर बाँधिएको थियो । खुट्टामा केही खालि महशुश भइराख्दा उनले चाल पाए कि आफ्ना जोर खुट्टाहरु बिमले च्यापिएर, रगत बृहत रुपमा बगेको हुनाले काटियो ।
आफ्ना खुट्टाको सहारा नै गुमाएका रमेशले अब जिन्दगीका पाइलाहरु खुट्टाहरुका अनुपस्थितिमा अघि बढाउन सक्ने कल्पना नै त्यागिदिए । आफ्नो जिन्दगीबाट हरेश नै खाए । आफ्नो घरपरिवारप्रतिको जिम्मेवारी, भाइबहिनीहरुको पढाइ अनि उज्जवल भविष्य सम्झिए तर उनीहरुलाइ आफ्ना अगाडि भने पाएनन् ।
हुन पनि उनको परिवार दैलेखको गाउँबाट काठमाडौँको टिचिङ्ग अस्पतालमा त्यस्तो सङ्कटकालमा आउन सम्भव पनि थिएन । त्यसमाथि उनले आफ्ना सपना र भविष्यको कल्पनाले गर्दा पनि घर परिवारलाइ आफ्नो जानकारी दिन र काठमाडौँ बोलाउन सकेनन् । भोलिको कुनै कल्पनासम्म पनि गर्न नसकेका खत्रीको हात समाएर डो¥याउने काम लायन्स क्लब अफ काठमाडौँ इन्टरनेशनल ३२५ वी१ काठमाडौँ र जापुरा ह्युमन रिसोर्सका जास्मिन श्रेष्ठ र पूजा गुरुङ्गले गरिन् ।
महाभूकम्पमा घाइते र सकुशल उद्वार हुनु भएका मान्छेहरुलाइ हेर्दै जाने क्रममा रमेश खत्रीलाइ टिचिङ्गमा भेटेर खानाको बन्दोबस्त र अन्य नैतिक रुपमा साथ दिनुभयो । रमेश खत्रीलाइ वहाँहरुको साथ सहयोग र आगामी दिनहरुमा अगाडि बढ्ने हौसला पनि प्राप्त भयो ।
त्यसपछि हस्पिटलबाट रमेश डिस्चार्ज भइ गह्रौँ मन बोेकेर सुनाकोठीमा अवस्थित बाल पोषण भन्ने संस्थामा पुग्नुभयो । जहाँ वहाँलाइ बस्ने साथसाथै गुमाएको जिन्दगीप्रतिको मोह जगाउने कामहरु प्र्रदान भयो । जसका लागि सुनिता रिमालले ठूलो भूमिका खेल्नु भयो । मानसिक रुपमा अडिग रहन र बलियो रहन र जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोचको बीजारोपण गर्ने काम त्यहाँबाट भयो । किनकि देशविदेशका अङ्गभङ्ग भएका मानिसहरुलाइ औल्याएर उनीहरुको सफलताको कुराहरु गरेर हौस्याउने काम पनि रिमालबाट भयो ।
केवल खुट्टाहरु गुम्दैमा जीवनको सर्वस्व नगुमेका प्रेरणादायी कुराहरुबाट राम्रो पाठ सिकेर खत्रीले जीवनमा केही न केही गर्ने दरिलो सोच बनाएका थिए । करिब दुइ महिनाको बाल पोषणको बसाइपश्चात उनी साहसिलो र केही गर्ने आँट बोकेर निस्किए । त्यसपछि हुम्यानिटी इन्क्लुजन भन्ने संस्थामार्फत सुनिल पोखरेलको उत्तरदायित्वमा फिजियोथेरापी दिन लागियो । यता सुनाकोठी बसाइपछि नेपाल हेल्थ एक्इपमेण्ट डेभेलपमेण्ट फाउण्डेशनमा बस्ने वातावरण मिल्यो ।
यससँगसँगै अपाङ्ग कोष भृकुटी मण्डपमा खत्रीलाइ कृत्रिम खुट्टाहरु हाल्नको लागि अभ्यासको पनि वातावरण मिलाइयो । यता संस्थामा उनी बस्दथे भने दिनमा फिजियो र कृत्रिम खुट्टाको अभ्यासको लागि भृकुटी मण्डप आउँदथे । उनको दैनिकी यी सबका बिचमा अल्भीराखेको थियो तर मिति २०७२मा भारतले नेपालमा लगाएको नाकाबन्दीबाट खुब मारमा पर्नुप¥यो । तर कुनै पनि हालतमा पछि पर्ने खालका थिएनन् रमेश र उनी आफूसँग भएको ह्विलचेयरलाइ नै लिएर बालाजुदेखि भृकुटी मण्डपको यात्रा तय गर्दथे । जसको परिणामस्वरुप उनमा ह्विलचेयर चाँडोभन्दा चाँडो कुदाउने बानीको र खुबीको विकास पनि हुन गयो ।
यसको करिब पाँच महिनापश्चात उनको छुटिसकेको पढाइको यात्रा निरन्तर हुनमा जोड पुग्यो । फ्रान्सेली नागरिक देविना बुलोट, अनि पवन तुलाधरको सहयोगमा खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा उनी भर्ना भए । यससँगै बोधीसत्त्वाज इन याक्शन (बी.आइ.ए) फाउण्डेशनको आवासगृहमा उनले बस्ने बन्दोबस्ती पनि पाए ।
जहाँ शारीरिक रुपले अङ्गभङ्ग भएका तर केही गर्ने सोच लिएर सम्मानका साथ जीवन बिताउने चाहना राखेका रमेशजस्तै अन्य कैयौँ मानिसहरुको आवासको साथसाथै खानपिनको पनि व्यवस्था मिलाइन्छ । त्यसपश्चात खत्रीले भूकम्प गएको वर्षदिन नबित्दै पढाइलाइ निरन्तरता गर्न पाए भने खेलकुदतिर लाग्ने अवसर पनि पाए ।
वि.सं २०७२मै पत्रकार नरेन्द्र श्रेष्ठले खत्रीलाइ पौडी खेल्छौ भनेर प्रश्न गर्दा गाउँमा पौडिन सौखिन खत्रीले हुन्छमा सहमति जनाए । जसको परिणामस्वरुप आज विश्वमा नेपाललाइ प्रतिनिधित्व गर्दै खत्री पौडिन्छन् ।
उनले २०७२ सालमा पौडिन चाहे र त्यतिबेला महाराजगञ्जको पौडी पोखरीमा, त्यसपछि भृकुटी मण्डप विपरीत नेपाल पुलिस क्लबमा अवस्थित पौडी पोखरीमा विभिन्न बाधा व्यवधानपछि पौडिन सुरु गरे । जुन बिना खुट्टाहरुको पौडाइको सुरुवात थिए । पहिले त बहानाबाजी खेप्दै वहाँलाइ आफ्नो संस्थाको अनुमति पत्र ल्याउन भनेर अल्झाइयो तर उनले भित्रबाट पौडिने सोच बनाइसकेकाले त्यति गर्नमा हिचकिचाएनन् । उनले संस्थाबाट कागजपत्र बोकेर आए र पुलिस क्लबका आवत मान्छेहरुको नामञ्जुरी हुँदाहुँदै पनि पानीमा पौडिन उत्रिए ।
पहिले त बिना खुट्टाले तैरिन गाह्रो महशुस भएता पनि पछि पानीले सजिलो बनाएको महशुस गरे । त्यसपछि उनको पौडी यात्रा विधिवत् रुपमा सुरु भयो । २०७३ सालमा उनले राष्ट्रिय पारा प्रतियोगितामा आफ्नो नाम पनि सामेल गराए । जसलाइ नेपाल स्पाइनल कर्ड इन्जुरी अशोशियशन ९एन।एस।सी।आइ।ए०ले शारीरिक रुपमा सबल नभएका व्यक्तिहरुको लागि मात्रै चौथो राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरेको थियो । सातदोबाटोको पौडी पोखरीमा आयोजित यस प्रतियोगितामा उनले आफ्नो उल्लाषमय प्रस्तुति दिए र नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् पदक प्राप्त गर्न सफल भए ।
यससँगै उनको पौडी यात्राले शिखर चुम्न थाल्यो । सोही मितिमा उनले जापानको भ्रमण गर्न र पौडीको तालिम लिन पाए । जापानको टोक्यो सहरमा आयोजित प्रतियोगिता र तालिममा उनले नेपालको प्रतिनिधित्व गर्न सफल भए । जहाँ उनले नेपालको खेलकुदको अवस्था र विदेशको खेलकुदको तुलनात्मक अध्ययन गर्न पाएका थिए । नेपालका पौडी पोखरीहरु गर्मी महिनाहरुमा मात्र खुल्छन् र ६ महिना बन्दै रहन्छन् । तर विदेशको पौडी खेलको लागि हरेक समय पौडी पोखरीहरु तातोप्राय रहने अनुभव उनले गरे ।
पौडी खेलले उनलाइ संसारमा चिनाउन थाल्यो र उनले नेपाललाइ विश्वमा एकपटक फेरि चिनाउन थाल्नुभयो । वि।सं २०७५ उनले फेरि पनि इण्डोनेसियाको जाकर्तामा एसियन पारा गेममा जाने अवसर पाए । उनी छनोटमा त परे तर सम्पूर्ण आर्थिक भार आफूले व्यहोर्नुृ पर्ने भएकाले उनलाइ अलिक गाह्रो प¥यो । तैपनि उनले विभिन्न सङ्घसंस्थाहरुसित सहयोगको माग गरेर ५,०००, १०,००० जम्मा गरेर ८०,००० पारे र जाकर्तामा उत्कृष्ट प्रदर्शनी दिएर फेरि पनि नेपाललाइ प्रतिनिधित्व गरेर नेपाल फर्किए । अन्र्तराष्ट्रिय जगत्मा एक नेपालीले प्रर्दशनी गरेर नेपालको प्रतिनिधित्व गर्ने जस्तो काममा पनि नेपाल सरकारले भने सहयोग गरेन र उनले कुनै एपेच्छा पनि राखेनन् ।
पौडीमा मात्र उनको खुबी सीमित भने छैन । नृत्यमा पनि उनको बडो सोख रहेको छ । त्यसैले बी.आइ.ए फाउण्डेशनमा रहँदा नै वि।सं २०७३मा नेपालमा आयोजित डिफ्रेण्ट्ली एबल्ड आइडल प्रतियोगितामा उनले पहिलो श्रेणी प्राप्त गरेर पुरस्कृत पनि भएका थिए । त्यसपश्चात एपी १ च्यानलबाट प्रदर्शित बुगी–उगी कार्यक्रममा पनि नृत्य देखाउन पुगेका थिए । यी दुइ प्रदर्शनीहरुमार्फत् रमेशले आफ्नो कला र खुबीको भण्डार सीमित नरहेको प्रष्ट पारेका थिए । त्यससँगै ह्विलचेयर बास्केटबल च्याम्पियनसिपमा पनि उनको राम्रो प्रस्तुति रहने गरेका छन् । ह्विलचेयर म्याराथन र ह्विलचेयर टेबल टेनिस कम्पेटिशनमा पनि उनको अब्बल प्रस्तुति नै रहेको पाइन्छ ।
पढाइको सिलसिला २०७६ सालमा एस।इ।इ दिइसकेर उनी एभ्रेष्ट बेस क्याम्पसम्म पुग्ने अभियानमा लागे । जसको लागि परेको खर्चहरु हङ्कङ्गस्थित फिसफिस, युम वाइ किम विलियममार्फत् बन्दोबस्त भयो ।
त्यसपश्चात २०७६ सालमै आइ.सि.आर.सी मिसन इन नेपाल र इन्गेजको सहकार्यमा कोरियामा आयोजित शारीरिक रुपमा सबल नभएका मानिसहरुको लागि खेलकुद अनि मनोवैज्ञानिक स्फुर्तिको कार्यक्रममा समेत रमेश सहभागी भइ नेपाललाइ प्रतिनिधित्व गरेर आइसकेका छन् । शारीरिक अपाङ्गताले गर्दा पहिले त केही गर्न सकिन्छ कि भन्ने विकल्प नै नभेटेका रमेशले आज देशविदेशमा राष्ट्रलाइ र युवावर्गमा नयाँ जोसजाँगर थपिदिने काम गरेका छन् ।
विभिन्न सङ्घसंस्थाहरुको आश्रयमा पुगेका रमेशले आजपर्यन्त हरेश खाएका छैनन् । तिनै सङ्घसंस्थाहरुबाट प्राप्त अनेकानेक तालिम अनि प्रशिक्षणहरुबाट उत्प्रेरित भएर खेल क्षेत्रमा आफ्नो अस्तित्व खोज्ने क्रममा लागेका छन् । हालै काठमाडौँको जोरपाटीस्थित माकलबारीमा बस्दै गरेका रमेश आफूले आजसम्म जति हासिल गरेका छन् ।
त्योभन्दा अझै धेरै हासिल गर्ने र राष्ट्रको नाम राख्नमा सक्दो कोशिश गर्ने अठोट लिएका छन् । आफ्नो मनोबल र इच्छाशक्ति दरिलो बनाएका उनले आफूलाइ हालको बन्दाबन्दीको समयमा शारीरिक व्यायाम र पढ्ने कार्यहरुमा व्यस्त बनाएका छन् । हालसम्म पनि कोठाको भाडा र अन्य रासनपानीको बन्दोबस्त पूजा गुरुङ्ग र जस्मिन श्रेष्ठले गरिदिने गरेका छन् ।
उनी यी सबै सङ्घसंस्थाहरुप्रति र सहयोगी व्यक्तित्वह्रुप्रति नतमस्तक रहेका छन् ।
तर नेपाल सरकारको दूरदर्शीता र आफूजस्तो शारीरिक सबलता नभएकाहरुप्रतिको असमान व्यवहारप्रति उनी तिक्तता व्यक्त गदर्छन् । पौडीको क्षेत्रमा हेर्दा शारीरिक सबलता नभएकाहरुको लागि पौडी पोखरीहरुको व्यवस्था नरहेको कुरामा उनी गुनासो व्यक्त गर्छन् ।
यस्तै दूरदर्शीताको कमीका कारण सबल त भए तर शारीरिक सबलता नभएकाहरु पनि खेलकुद क्षेत्रबाट हतोत्साहित हुने जस्तो गुनासात्मक शंका व्यक्त गदर्छन् । आधिकारिक निकायबाट कुनै किसिमको आर्थिक र नैतिक सहयोग र साथ नभएको कुरामा पनि उनी गुनासो व्यक्त गर्दछन् तर आफ्नो यात्रामा निरन्तर लागि रहने उनी प्रेरणामूलक अभिव्यक्ति पोख्छन् ।
-धिरज थापा मगर
(भिजन न्यज नेपालका ललितपुर संवाददाता तथा इभिजन न्युज नेपालका अंग्रेजी समाचारका सह- सम्पादक धिरज थापाले समसामयिक विषयबस्तुमा कलम चलाउनुहुन्छ )