नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यबाट हटाएका चार सांसदलाई सर्वोच्चद्धारा पुनर्बहाली

काठमाडौं :नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यबाट हटाएका चार सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशसँगै एमालेको माधव नेपाल पक्षका सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सभा सदस्यमा पुनर्बहाली भएका छन् । उनीहरूले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

mostbet

तर आज प्रकाशमान सिंह राउतको एकल इजलासले नेकपा एमालेको दशौँ महाधिवेशन राष्ट्रिय आयोजक कमिटीले प्रदेश सभा सदस्यहरूलाई हटाएको देखिएको तर महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएकाले प्रदेश सभा सदस्यबाट हटाउन नमिल्ने भन्दै अन्तरिम आदेश दिएको हो ।

कुनै पनि सदस्यलाई हटाउनुअघि केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्नुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा प्रक्रिया पुर्‍याएर हटाउन सकिने स्मरण गराउँदै अदालतले केन्द्रीय कमिटीको निर्णय नभइ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ ।