
महिनावारी अर्थात रजस्वला (नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,परा सर्नु,छुइ हुनु इत्यादी)महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्छन् तब महिनावारी सुरु हुन्छ ।
नेपालमा धर्मिक तथा सामाजिक कारणले गर्दा महिनावारीको खासै कुराकानी हुँदैन । पुरुष मात्रै होइन नेपालमा स्वयं महिलाहरू पनि यस विषयमा खुलेर बोलेको पाइँदैन ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरुको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ ।
आजभोली शहरी क्षेत्रमा अलिअलि चर्चा हुन थाले पनि विकट गाउँतिर महिनावारीलाई अझै पुरानै दृष्टिकोणले हेरिन्छ । जसको कारण अधिकांश महिलाहरू विभिन्न रोगको शिकार भएर बाँच्न परेको छ भने कतिपयले ज्यानै समेत गुमाउनु परेको छ ।
के हो महिनावारी ?
( महिनावारी भनेको प्रजनन प्रक्रियासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो, जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोनसँग सम्बन्धित हुने हुनाले कसैको छिटो पनि हुनसक्छ, तर १५ वर्ष पूरा हुँदा पनि रजस्वला सुरु नभएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी प्रत्यक्ष रुपमा महिलाको स्वास्थ्यसँग सम्बन्धित भएको हुनाले यसको बारेमा सबैलाई जानकारी हुन जरूरी छ । भिजनन्यूजको नियमित शृंखला अन्तरगत हामी यहाँ केही महिलाहरूको अनुभव प्रस्तुत गर्दैछौँ ।
१ परिचय

– सुशीला तामाङ
– पत्रकारिता
२ महिनावारीको पहिलो अनुभव कस्तो थियो ?
– १४ वर्षको उमेरमा मेरो पहिलो महिनावारी भएको थियो । त्यतिबेला गाउँमा महिनावारीलाई गुपचुप नै राख्ने गरिन्थ्यो । महिनावारी हुदा योनीबाट रगत आउछ भन्ने मलाई थाहा थियो । आमाले प्रयोग गर्नुहुने टालोहरू देखेर थाहा भएको थियो । महिनावारीपछि आमालाई कसरी भन्ने चिन्ताले सताएको थियो । गाउामा दिदीहरू महिनावारी हुँदा कसैलाई थाहा हुन्न थियो । महिनावारीको बेला हाम्रो समुदायमा छोइछिटो गर्ने परम्परा छैन ।
कुल देवता, पूजाभन्दा बाहेक सबैमा छुट भएकाले गाउँमा दिदीहरु महिनावारी हुँदा पनि घरका कसैलाई थाहा दिँदैनथे । क्षेत्री समुदायमा हुर्केकाले शंका मानेर सोध्नुभएपछि मैले हो भनेँ । आमाले मलाई उत्ति नै खेर भित्र लगेर भन्नुभयो,‘अब त ठूली भइस् । केटा मान्छेहरूबाट बच्नुपर्छ । पहिला जसरी अब हिँड्नुहुन्न । अरुको घरमा बास बस्नुहुन्न । टालो पनि लुकाएर सुकाउने गर् ।’ पहिलो महिनावारीको रगत कसैले देख्यो भने बोक्सी लाग्छ भन्ने अन्धविश्वास व्याप्त भएकोले धेरैजसोको महिनावारी गोप्य नै हुन्थ्यो । ‘केटा मान्छेहरुबाट बच्नुपर्छ ।
पहिला जसरी अब हिँड्नुहुन्न’, ‘अरुको घरमा बास बस्नुहुन्न’ भन्ने कुरा बुझ्न सकिनँ । आमाले बुझाउनु पनि भएन । म त्यतिबेला भने डराएँ । केटा मान्छेसँग बोल्नै हुन्न, अरुको घरमा जानै हुन्न भन्ने कुरा मेरो मनमा बस्यो । चार दिन जति स्कुलमा पढाइभन्दा पनि फ्रकमा रगत अरुले देख्ला भन्ने त्रास भयो । असारमा भएपछि अर्काे महिनावारी कात्तिक महिनामा मात्र भयो । त्यस अवधिमा म खुब डराएकी थिएँ । गर्भवती हुँदा महिनावारी हुन्न भन्ने मैले पँधेरोमा एकजना भाउजूले भन्नुभएको सुनेकी थिएँ । तर गर्भवती हुने प्रक्रिया थाहा थिएन ।
मैले सोचेँ, ‘म पनि गर्भवती भएँ । ओहो मत सानै छु । कसरी बच्चा जन्माउने । स्कुलमा केटा साथीहरु, सरसँग बोलेको थिए“, मामाघर पनि गएको थिएँ ।’ म दिनकै पेट हेरेर मानसिक तनावमा हुन्थेँ । महिनावारी भएपछि बल्ल ढुक्क भएको थिएँ । महिनावारी स्वस्थ मासिक प्रक्रिया हो । यो प्रजननसँग जोडिएको छ । त्यतिबेला महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरूको शरीरमा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित छ भन्ने कुरा आमाले सायद मलाई बुझाउन सक्नुभएन ।
३ महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसँग जोडेर गरिने व्यवहार कस्तो लाग्छ, यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– अहिले महिनावारी सम्बन्धि थुप्रै नीति, कार्यक्रम तथा वहसहरु भए पनि ग्रामिण भेगमा होइन सहरी क्षेत्रमा महिनावारी बार्नेहरू छन् । प्रजनन् स्वास्थ्य सम्बन्धि खुलेर वहस भइरहे पनि विज्ञहरु नै धर्मविरुद्ध जान सकेका छैनन् । केन्द्र तथा स्थानीय तहमा भइरहेका महिनावारी स्वच्छता व्यवस्थापन प्रशिक्षणहरू भइ नै रहेका छन् । महिनावारी भएको बेला अझै पनि हामी मन्दिरमा छिरेर पूजा गर्न असमर्थ छौँ । यसको लागि प्रत्येक महिलाले आफ्नो चेतनाको स्तर वृद्धि गर्न जरुरी छ ।
४ महिनावारीको विषयमा नेपालमा भएका वहसहरू कत्तिको प्रभावकारी भएका छन्?
– महिनावारीको विषयमा खुलेरै वहसहरू भएका छन् । शैक्षिक स्तरका पाठ्यक्रमदेखि सञ्चार माध्यम, विभिन्न कार्यक्रमहरुमा महिनावारीलाई प्राकृतिक जैविक प्रक्रियाका रुपमा व्याख्या गरिएका छन्, महिनावारी सम्बन्धि भ्रम चिर्न र चेतनास्तर बढाउन सन् २०१४ देखि प्रत्येक वर्ष मे २८ लाई महिनावारी सरसफाई दिवसका रुपमा मनाउन थालिएको छ, डिसेम्वर ८ लाई विश्वभरी ‘मर्यादित महिनावारी’ दिवसका रुपमा मनाइएको छ । तर, व्यक्तिगत चेतनाको स्तर उस्तै देखिन्छ । हामी अझै मेडिकल वा कुनै कस्मेटिक पसलमा सेनेटरी प्याड लुकाएर नै ल्याउछाैँ । घरमा एक बाबुले छोरीलाई महिनावारीको बारेमा खुलस्त भन्ने वातावरण बनेको देखिँदैन ।
५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई, महिनावारीको समयमा गरिने गल्तीहरूबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरूलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
– महिनावारीका समयमा अझै पनि महिलाहरूलाई निकै कठिन छ । विशेषगरी कामकाजी महिलाहरूलाई सबै कार्यालयमा सेनेटरी प्याड उपलब्ध छैन । जसले गर्दा बिहान प्रयोग गरेको प्याड एकैपटक बेलुका घरमा फर्केपछि मात्र परिवर्तन गर्नुपर्ने बाध्यता कायम छ । सरकारले सबै सरकारी तथा नीजि संस्थामा प्याड उपलब्धताको नीति बनाउन जरुरी छ । पर्याप्त पानी र सरसफाईको सामग्री उपलब्ध हुनुपर्छ । महिनावारीको वहस महिलाबीच मात्र होइन पुरुषहरूसँग गर्ने वातावरण सिर्जना हुनुपर्छ ।
६ महिनावारीसँग सम्बन्धित विषयको वहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
–
महिनावारीको विषयमा सरकारी स्तरमा भएका वहसहरु सकरात्मक नै छन् । पछिल्लो समय मर्यादित महिनावारी व्यवस्थापन निर्देशिकाहरू स्थानीय तहहरूमा नै सुरु भएको पाइन्छ । नेपाल सरकारको राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ मस्यौद समितिले तयार गरेको एक रिपोर्ट रणनीतिको बुँदा नम्बर ३ मा महिनावारी व्यवस्थापनको लागि आधारभूत सेवा, सुविधा, सामग्रीको उपलब्धता र पहुँचको बढाउने भनी उल्लेख गरिएको छ ।
१ परिचय
– दिपिका ढकाल
– कलाकार
२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
– लाज लागेको थियो ।
३ महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसँग जोडेर गरिने व्यवहार कस्तो लाग्छ,यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– घरमा भान्साकोठा बाहेक अरु सब खुल्ला छ । सहज छ । माईतीमा जादा महिनावारी हुँदा सुत्नलाई ओड्ने, ओछ्यान र कोठा छुट्टै छ । त्यही कोठा बाहेक अन्त छुन र जान बन्देज छ तर मलाई यो व्यवहारले कुनै कठिनाई परेको छैन । गर्नु पर्ने काम घट्छ। आराम गर्न पाईन्छ खुशी नै लाग्छ। आमा बुवा, हजुरआमा, हजुरबुवा उहाँहरू परिवर्तन हुनै चाहानु हुँदैन, उहाँहरूलाई परिवर्तन गर्न खोज्नु भनेको, उहाँहरुको मनमा ठेस पुर्याउनु , चित्त दुखाउनु हो। म बार्नु पर्ने ठाउँमा बार्छु, नपर्ने ठाउँमा बार्दिन । जस्तो घर र संस्कार छ त्यही अनुसार चल्ने गरेकी छु । हामीले हाम्रो सन्तानलाई बन्धेज लाउदैनौ , हाम्रो पिडि पछि यो बिस्तारै हट्छ, म ढुक्क छु ।
४ महिनावारीको विषयमा नेपालमा भएका वहशहरु कत्तिको प्रभावकारी भएका छन?
– वहस हुन्छ, अलिअलि परिवर्तन भयो होला तर वहसले खासै परीवर्तन ल्यायो जस्तो लाग्दैन । मानिसहरू पहिलेको जस्तो एकै घर गाउँमा सिमित भएर बस्दैनन् , हिड्दा डुल्दा देख्दा सिक्छ्न् , समय अनुसार सबैकुरा परिमार्जन हुँदै आएको छ। परिवर्तन हुन्छ र महिनावारी अन्त्य हुन्छ होला।
५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई,महिनावारीको समयमा गरिने गल्तीहरूबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरुलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
–
सरसफाइ र महिनावारीको बेला चाहिने आराम अनि सुरक्षित र सुविधायुक्त बस्ने कोठाको बारेमा जनचेतना मुलक कार्यक्रमको आयोजना सरकारले गरे उचित होला।
६ महिनावारीसँग सम्बन्धित विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
स्कुलहरूमा महिनावारीको विषयमा कार्यक्रमहरू आयोजना गरेर यस सम्बन्धि उचित शिक्षा दिन सक्छ होला।