नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता

 विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो ।

तर आइतबारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ को सत्ता समीकरणमा कुनै असर पर्ने छैन् । प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ ।

mostbet

‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं,’ उनले भने,‘ समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

फागुन २३ गते सर्बाेच्च अदालतले नेकपा एकता भङ्ग गरिदिएपछि चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएको थियो । सोमबारबाट सुरु हुने बजेट अधिवेशन अघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

१५ दिन अगाडि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेपछि सरकारले बोलाएको बजेट अधिवेशन सोमबार दिउँसो २ बजे बजे बस्नेछ ।

९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेसँग ५१, नेपाली कांग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा माओवादी केन्द्रले एकजनालाई पदबाट हटाएको छ ।

प्रदेशमा एमाले बाहेकका दल एक ठाउमा उभिदा बुहमत पुग्ने अवस्था छैन । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमाले बाहेकका दलहरुसँग ४१ मत मात्रै छ ।