कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार ५६ रूख काटिने

सुर्खेत : १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार ५६ वटा रूख काटिने भएको छ ।आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग अनुमति मागेको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘स्थलगत अध्ययनले १३ हजार बढी रूख काट्नुपर्ने देखिएको छ, त्यसका लागि नेपाल सरकारसँग अनुमति समेत माग गरेका छौं,’ उनले भने ।

उनका अनुसार आयोजना विस्तार गर्दा सुर्खेतमा ६ हजार ८२०, बर्दियामा तीन हजार ३२० बाँकेमा दुई हजार ९१६ वटा रूख काट्नुपर्ने देखिएको छ । सुर्खेतको वीरेनद्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका १३ हजार बढी रुख काट्न अनुमति माग गरिएको प्रमुख चौधरीले बताए ।

mostbet

आयोजनाले रूख काट्ने अनुमतिका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले तयार पारेको प्रतिवेदन सरकारसँग पेश गरेको छ ।

‘ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेश भइसकेको छ,’ चौधरीले भने, ‘आयोजना ऊर्जा मन्त्रालयसँग सम्बन्धित हो । तर, रूख कटान अनुमतिका लागि वन मन्त्रालयमा पनि फाइल पेस गरिएको छ ।’

रूख कटानको अनुमति मन्त्रिपरिषद बैठकले दिनुपर्छ । आयोजना विस्तार गर्दा विद्युत्का ठुला पोलहरु राख्नुपर्ने र ती पोलले ठूलो क्षेत्र ओगट्ने भएकाले पनि धेरै रूखहरू काट्नु पर्ने भएको आयोजना प्रमुख चौधरीले बताए ।

‘आयोजना विस्तारका लागि जम्मा १६० पोल निर्माण गर्नुपर्ने हुन्छ, तीमध्ये १३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा निर्माण गरिनेछ,’ उनले भने, ‘जसमा केही एंगल टावरसमेत रहने छन् ।’

गत असार २२ गते १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्रालि’ले लिएको छ । उक्त कम्पनीले ७० करोड रुपैयाँमो ठेक्का लिएको हो ।