
काठमाडौं: नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको संसद् सम्बोधनले पार्टीभित्र आन्तरिक विद्रोहको आगो बल्को छ ।
बिहीबार संसद्मा थापाले ‘षड्यन्त्र’का लामा कथा सुनाएर सेना, कर्मचारी र प्रविधिलाई दोष दिएर आफ्नो र सरकारको अकर्मण्यता लुकाउने प्रयास गरेपछि पार्टीका वरिष्ठ नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत खुला असन्तुष्टि पोखेका छन् ।
पाण्डेले लेखेका छन्, “हिजो संसद्मा षड्यन्त्रका लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो… सबै दोष अरूलाई । हामी पनि दोषी छौं । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भयो । अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।”
उनले थप भनेका छन्, “आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं । २३–२४ छानबिन हुनुपर्छ–तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।”
थापाको विवादास्पद सम्बोधनपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । योगेश भट्टराईदेखि विष्णु पौडेलसम्मका वरिष्ठ नेताहरू थापाको ‘राष्ट्रवादी नाटक’प्रति रुष्ट रहेको स्रोतले जनाएको छ । उनीहरूले थापाले पार्टीको छवि बिगारेको र कार्यकर्तालाई भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् ।
यो विवादलाई लिएर आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठकमा थापाको सम्बोधनलाई लिएर तीखो छलफल हुने र उनलाई पार्टीभित्रै कडा आलोचना गर्ने तयारी भइरहेको छ ।
एमाले स्रोतका अनुसार थापाको भाषणले पार्टीको आन्तरिक एकता खल्बलाएको छ । केही नेताहरूले “यो षड्यन्त्रको कथा होइन, आफ्नो असफलताको कथा हो” भन्दै खुला रूपमा विरोध गर्न थालेका छन् ।
थापाको सम्बोधनले एमालेभित्रको गुटबन्दी र आन्तरिक द्वन्द्वलाई फेरि एक पटक उजागर गरेको छ । अब सचिवालय बैठकले के निर्णय गर्छ र पार्टीको आन्तरिक कलह कति चर्किन्छ, त्यो हेर्न बाँकी छ