
सुर्खेत: गगन थापा ले २०७४ पछिका आठ वर्षलाई नेपालको राजनीतिमा “दुर्भाग्यपूर्ण कालखण्ड” करार गर्दै अबको पाँच वर्ष देशका लागि स्वर्णिम बनाउने उद्घोष गरेका छन्। सुर्खेतको बिरेन्द्रनगरस्थित घन्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकार बनाउने–ढाल्ने खेलमै देश अल्झिँदा २०७२ को संविधान कार्यान्वयन ओझेलमा परेको आरोप लगाए।
सभामा बोल्दै थापाले स्पष्ट शब्दमा भने, “२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो। सरकार बनाउने, भत्काउने र टिकाउने खेलमै राजनीति सीमित रह्यो।” उनका अनुसार यही अस्थिरताका कारण संविधानमा ‘सुनका अक्षरमा लेखिएका’ अधिकारहरू व्यवहारमा उतार्न नसकिएको हो।
उनले मधेश र कर्णालीको पीडा राज्यले अनुभूति गर्न नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठाए। “०५२ देखि ०६३/६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठूलो पीडा थिएन। हिंसाबाट बाहिर आएपछि परिवर्तनको परिणाम दिनुपर्थ्यो, तर त्यो हुन सकेन,” उनले कटाक्ष गरे।
अब समय खेर फाल्ने छुट नरहेको दाबी गर्दै थापाले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई “स्वर्णिम काल” बनाउने प्रतिबद्धता व्यक्त गरे। बदलिएको कांग्रेससँग स्पष्ट योजना, दृढ संकल्प र विकासको भोक रहेको उनको दाबी छ।
“हाम्रो पेटमा भोक छ, आँखामा सपना छ। हामी योजना लिएर आएका छौँ, देश सम्हालेर अगाडि बढाउन चाहेका छौँ,” उनले जोड दिए।
बिरेन्द्रनगर घन्टाघरमा भएको उक्त कार्यक्रमलाई कांग्रेसको आगामी चुनावी अभियानको सशक्त सन्देशका रूपमा हेरिएको छ—अबको एजेन्डा सत्ता समीकरण होइन, परिणाममुखी शासन र संविधानको प्रभावकारी कार्यान्वयन हुने दाबी पार्टी नेतृत्वले दोहोर्याएको छ।