
काठमाडौं : चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ। माघ ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा २३ देशका १५ सयभन्दा बढी खेलाडी तथा १६५ टिमको सहभागिता रहेको थियो।
उच्च प्रतिस्पर्धाबीच स्वस्तिक तेक्वान्दो डोजाङले उल्लेखनीय प्रदर्शन गर्दै कुल १३ पदक जित्न सफल भएको छ। डोजाङले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक हात पार्दै आफूलाई उत्कृष्ट टिमका रूपमा स्थापित गरेको हो। अझ उल्लेखनीय कुरा त के भने, सहभागी १३ खेलाडी सबैले पदक जित्दै शतप्रतिशत सफलता हासिल गरेका छन्।
पुम्से तर्फ चम्कियो स्वस्तिक
१४ वर्ष मुनिको एकल पुम्सेमा सुमन तामाङले स्वर्ण पदक जित्दा महिलातर्फ युनिसा राना मगरले कास्य पदक हात पारिन्।
१७ वर्ष मुनिको पियर पुम्सेमा एरिका माझी र आयुष मोतेको जोडीले रजत जिते। १४ वर्ष मुनिको पियर पुम्सेमा सुमन तामाङ र युनिसा राना मगरको जोडीले पनि रजत पदक जित्न सफल भयो।
१४ वर्ष मुनिको ग्रुप पुम्सेमा सुमन तामाङ, पल्सन दर्नाल र प्रद्युम्न शाहको समूहले रजत पदक जित्दा महिलातर्फ युनिसा राना मगर, अर्लीना चौधरी र लक्ष्मी न्यौपानेको टोलीले कास्य पदक हात पार्यो।
५० वर्ष मुनिको ग्रुप पुम्सेमा कमला गिरी शाहले स्वर्ण पदक जितिन्। उनले एकल महिला पुम्सेमा कास्य पदक समेत थपिन्। प्रेमकुमार दर्नाल र शाहको जोडीले पियर पुम्सेमा कास्य जित्दा ५० वर्ष मुनिको ग्रुप पुम्सेमा प्रेमकुमार दर्नालले रजत पदक हात पारे।
गेरोगी तर्फ पनि सफलता
गेरोगी अन्तर्गत क्याडेट ५३ केजी मुनि कर्साङ तामाङले कास्य पदक जिते। जुनियर ७८ केजीमाथि तौल समूहमा अंकित जंग थापाले कास्य जित्दा ७८ केजी मुनि शिवम खत्रीले पनि कास्य पदक हात पारे।
प्रशिक्षकको प्रतिक्रिया
स्वस्तिक तेक्वान्दो डोजाङ स्थापना भएको छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। प्रशिक्षक प्रेमकुमार दर्नालले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणका कारण यो सफलता सम्भव भएको भन्दै खुसी व्यक्त गरेका छन्।
स्वस्तिक डोजाङको यो उपलब्धिले नेपाली तेक्वान्दो क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।