बेलबारीमा ‘सिलसिला’ को विमोचन, नवशिलाको मुक्तकयात्रामा नयाँ अध्याय

मोरङ, बेलबारी : मोरङको बेलबारी निवासी स्रष्टा नवराज पोखरेल ‘नवशिला’को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) को भव्य लोकार्पण बेलबारीमा सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बिहीबार बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कृतिको सार्वजनिक विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, सभाध्यक्ष तथा परिषद्का अध्यक्ष केशु विरही, कवि–समालोचक डा. दीपकप्रसाद न्यौपाने, अग्रज स्रष्टा हर्कमान तामाङ, कृतिकार ‘नवशिला’ तथा उनका अभिभावक लक्ष्मीप्रसाद र दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृतिको लोकार्पण गरिएको थियो।

mostbet

लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गर्दै डा. न्यौपानेले ‘सिलसिला’ भित्रका मुक्तकहरूले जीवन, समाज र संवेदनाका विविध आयामलाई कलात्मक सौन्दर्यका साथ अभिव्यक्त गरेको उल्लेख गरे। कृतिकारको साहित्यिक यात्रालाई प्रशंसनीय ठहर गर्दै उनले आगामी सृजनामा अझ परिष्कृत अभिव्यक्तिको अपेक्षा व्यक्त गरे।

प्रमुख अतिथि खतिवडाले नवशिलाको निरन्तर साहित्य साधनाप्रति प्रशंसा व्यक्त गर्दै यस्तो सृजनात्मक ऊर्जा दीर्घकालसम्म कायम रहोस् भन्ने कामना गरे। सभाध्यक्ष विरहीले परिषद्ले साहित्यिक गतिविधिलाई नवीन शैलीमा अघि बढाइरहेको बताउँदै कृतिकारको सिर्जनशीलताले क्षेत्रीय साहित्यिक चेतनामा ऊर्जा थपेको धारणा राखे।

कृतिकार पोखरेलले आफूलाई लेखनमार्गतर्फ उन्मुख गराउन धर्मपत्नी शिला भण्डारीको प्रेरणा निर्णायक रहेको भावुकतापूर्वक स्मरण गरे। कार्यक्रममा स्वदेश तथा सीमापारका साहित्यिक संस्थाका प्रतिनिधिहरू—इन्दिरा गौतम, मधु पोखरेल, इन्दिरा चापागाईँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकारको साहित्यिक योगदानको सराहना गरे।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अग्रज तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली र नानुमाया दाहाललगायतले ‘सिलसिला’ भित्रका मुक्तकहरू वाचन गर्दै कृतिको रसास्वादन गराएका थिए।

साहित्य विभाग सहसंयोजक शारदा दाहालको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रम परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षता तथा कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो।

 

 

 

 

 

 

अघिल्लो पोष्ट
अर्को पोस्ट