आरजु गिरीको शब्द प्रविन बेड्वालको स्वर र संगीतमा गजल ‘नयन’ सार्वजनिक ( भिडियो सहित)


काठमाडौः पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । यसै विच आरजु गिरीका शेरहरुले सजिएको गजल नयन भर्खरै सार्वजनिक भएको छ जुन गजलका शेरहरू प्रेमको मधुर कम्पनले भरिएका छन् । गजल नयनमा प्रेम केवल शब्दमा सीमित छैन, दृष्टिको सूक्ष्म भाषा, लाजले झुकेका आँखा, चोरी–चोरीको हेराइ र मनको अनकही चाहनामा गहिरिएर बसेको छ । गजलका प्रत्येक शेरले प्रेमको एक अलग पाटो उजागर गर्छ लाज, आकर्षण, बेचैनी, चाहना र अन्ततः मिलनको अभिलाषा ।

जव झुक्छन् सामु मेरा लजाएर नयन ती
लाग्छ राखु छाती भरि सजाएर नयन ती…

mostbet

गजलको यस शेरमा प्रेमिकाका नयनहरू प्रेमको पहिलो साक्षी बनेको अनुभूति हुन्छ । सामान्यताः आँखा झुक्नु केवल लाजको संकेत मानिन्छ तर गजलको यो शेरमा नयन लज्जाले मात्र झुकेका छैनन् र होइन पनि, उनको त्यो झुकेको नजर प्रेम प्रस्ताव स्वीकृतिको मधुर संकेत पनि हो । जब प्रियाका आँखा लाजले झुक्छन् त्यो क्षण एक प्रेमीका लागि सबैभन्दा विशेष हुन्छ, उनका मनका सारा भाव उनको त्यो झुकेको नजरले नै वर्णन गरेको हुन्छ । गजलमा “छाती भरि सजाएर राख्ने” चाहना सतही रुपमा बुझ्‌दा शारीरिक निकटताको संकेत जस्तो भए पनि छाती भित्र नै मन अनि मुटु पनि हुने भएकोले त्यहि मन या मुटुको गहिराइमा उनलाई सधैं सधैंका लागि बसाल्ने आकांक्षा प्रेमीले राखेको महशुष हुन्छ ।

लुट्यो होस् अनि चैन छड्के तिनै हेराइले
गरे हुन्थ्यो उपकार लुकाएर नयन ती..

प्रेममा सबैभन्दा बलियो नै हतियार ‘हेराइ’ हो । प्रेममा प्रेयसीको नजर केवल हेर्ने साधन होइन, त्यो भावनाको भाषा हो जुन हजार शब्दभन्दा पनि गहिरो हुन्छ । नयन अधरले झैं बोल्दैनन् तर ती नजरले मनका हजार कुरा व्यक्त गरिरहेका हुन्छन्। कहिलेकाहीँ ती नजरहरू झुकेर लजाउँछन्, कहिलेकाहीँ चुपचाप अडिएर मनको ढोका खोल्छन् अनि कहिलेकाहीँ अचानक जुधेर हृदयको धड्कन बढाइदिन्छन् । साच्चै गीतकार नारायण कुमार आचार्यले धेरै अघि लेखेका र मुरलीधरको स्वर र संगीत रहेको कालजयी गीत ‘त्यो नजरको बयान गरु कसरी …’जस्तै उनका नयनका ती नजर, ती हेराई अवर्णनीय नै लाग्छ ।

प्रेमको प्रारम्भ प्रायः नजरबाटै हुन्छ । जब प्रेयसीले एकछिन् चोरिएर हेर्छिन् त्यो हेराइमा संकोच पनि हुन्छ र स्वीकृति पनि । नयनको त्यो हेराईले केहि सोधेजस्तो लाग्छ केहि खोजे जस्तो लाग्छ अनि केहि बोले जस्तो लाग्छ … र जब दुई नजर एक हुन्छन् त्यही क्षण समय स्थिर भएजस्तो लाग्छ अनि वरिपरि भीड भए पनि संसार सानो भई दुई नयनमै सीमित बनिदिन्छ । उनको हेराईमा एउटा अनौठो जादू हुन्छ जुन नयनको हेराइले थाकेको मनलाई शान्ति दिन्छ अनि सन्तुलित हृदयलाई पनि बेचैन बनाउन सक्छ । कहिलेकाहीँ ती नयनमा सपनाहरू तैरिरहेका हुन्छन् भविष्यका प्रेमिल मिलनका अनि संग सँगै हात समाई हिँड्ने बाटाका । कहिलेकाहीँ तिनै नयन गुनासो गर्छन् अनि अनि फेरि क्षणभरमै पग्लेर मायामा झार्छन् । ती नयनमा करुणा पनि हुन्छ अनि आग्रह पनि । जव उनले प्रेमिल नजरले हेर्छिन् तव एक प्रेमीलाई महशुष हुन्छ ऊ संसारको सबैभन्दा धनी मान्छे हो किनकि त्यो नजरमा विश्वास छ, अपनत्व छ र आफूलाई स्वीकारेको मिठो अनुभूति पनि संगै मिसिएको छ ।

उनको नयन अनि ती नयनको नजर प्रेमको सबैभन्दा सजीव कविता हो। ओठले नबोलेका सयौ भाव, मनले लुकाएका भित्री चाह अनि आत्माले महसुस गरेका गहिरो स्पन्दनहरू सबै ती छड्के हेराईमा झल्किन्छन् । एउटा प्रेमीका लागि त्यो छड्के नजर आराधना जस्तै हो जहाँ ऊ बारम्बार हराउन चाहन्छ अनि हराई भित्रै फेरि भेटिन चाहन्छ। गजलको यो शेरले बोलेको भाव प्रेयसीको नयन अनि त्यो छड्के नजर केवल हेराई मात्र होइन त्यो सम्पूर्ण प्रेमकथा हो मौन तर गहिरो, सरल तर अनन्त ।

बेचैनी त पक्कै होला यहाँ जस्तै त्यहाँ पनि
मेटे हुन्थ्यो खुल्दुली जुधाएर नयन ती …

प्रेम एकतर्फी होइन भन्ने भाव गजलको यो शेरले बोलेको छ । जस्तो बेचैनी प्रेमीको मनमा छ त्यस्तै बेचैनी उता पनि होला भन्ने आशा गजलको शेरले राखेको छ । आँखा जुध्नु भनेको मन जुध्नु हो । यदि एकपटक आँखा खुलेर जुध्थे भने सायद मनका सबै प्रश्नहरू समाधान हुन्थे । “खुल्दुली” केवल जिज्ञासा होइन, त्यो प्रतीक्षाको पीडा पनि हो । के उनी पनि यस्तै महसुस गर्छिन् त ? के उनी पनि यही प्रेममा छिन् त ? दुई नयन एक हुनु यहाँ प्रेमको स्वीकारोक्ति हो ।

मिल्छ भने खुसी धेरै चोरी मन यो लुकीलुकी
म पनि त हिँड्छु भागी सताएर नयन ती…

गजलको यो शेरमा प्रेमको खेल लुकामारी जस्तो बनेको छ । मन चोरी गर्ने चाह छ तर खुलेआम होइन लुकीलुकी । प्रेममा एउटा मिठो डर हुन्छ नि समाजको, परिस्थितिको अनि अस्वीकृतिको । यो डरले गर्दा लुकीलुकी मन सताएर भागी हिँड्ने प्रेमीको चाह रहेको छ । तर यहाँ भाग्नु पलायन होइन, बरु हृदयको धड्कन सम्हाल्न नसक्नु हो । प्रेमको आकर्षण यति प्रबल छ कि त्यसबाट बच्न खोज्दा पनि मन फेरि त्यहीँ फर्किन्छ भागी भागी ।

मात्र एकै भइदिए दुवै मनको आरजु यो
पुरा हुन्थे यी सपना ब्युँझाएर नयन ती …

गजलको अन्तिम शेरमा प्रेमको चरम अभिलाषा प्रकट भएको छ दुई मन एक हुनु । गजलमा “आरजु” केवल चाह मात्र बनेको छैन यो त भित्री मनको पुकार बनेको छ । यदि दुवैको मन एउटै धुनमा बज्थ्यो भने सबै सपना पूरा हुन्थे । यहाँ नयन फेरि पनि माध्यम बनेको छ सपना साकार पार्ने साधनका रूपमा । समग्रमा आरजु गिरीका गजलका यी शेरहरू प्रेम दृष्टि–भाषाको सुन्दर चित्रण बनेका छन् । गजलका शेरहरुमा शब्दभन्दा बढी नयनले बोलेका छन्, लाजले स्वीकार्छ, हेराइले लुट्छ, बेचैनीले जोड्छ, र अन्ततः मिलनको आशाले सपना बुन्छ । आरजु गिरीको काव्यमा प्रेम कोमल पनि छ, बेचैन पनि अनि मौन पनि छ उस्तै गहिरो पनि । उनका गजलका यी शेरहरूले देखाउँछन् कि झुकेका नयनमै सम्पूर्ण प्रेमकथा लेख्न सकिन्छ ।

आरजु गिरीका यति प्रेमिल भावको गजलका यी शेरहरुलाई प्रविण बेडवालले मीठो स्वरमा सजाएका छन् । गजल ‘नयन’ मा फणिन्द्र राईको एरेन्ज, गजल अकष्टिक नेपालको स्टुडियोमा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको छ । गजलमा गायक प्रविण बेड्वाल कै संगीत रहेको छ भने गजलको भिडियोको कथा गजलकार आरजु गिरी स्वयंले परिकल्पना गरेका छन् । उनको परिकल्पनाको कथालाई सन्दीप वस्ती र उपासना पाठक मार्फत निर्देशक कृष्णदेव रुपाखेतीले उत्सव दाहालको साथले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् भने विकास दाहालले भिडियोको सम्पादन गरेका छन् । गजल ‘नयन’ नेपाली गजल बहार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गजल लेखन र रेकर्डलाई निरन्तरता दिदै आएका गजलकार हुन् आरजु गिरी । उनका शब्दको गजल ‘को हौ तिमी’ केहि समय अघि गायिका तथा संगीतकार बबिना भट्टराईको मधुर र लययुक्त स्वर एवं संगीतमा सार्वजनिक भएको थियो । आगामी केहि समयमा बबिना भट्टराईको स्वर तथा संगीतमा अर्को गजल आउदै गरेको पनि गजलकार आरजु गिरीले बताएका छन् ।

भिडियो हेर्नुहोस् !